ग्रामीण अर्थतन्त्र सबलीकरणमा ‘वर्क बेस कल्चर’ आवश्यक : महालेखा नियन्त्रक पौडेल

काठमाडौं । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले ग्रामीण अर्थतन्त्र सबलीकरणका लागि ‘वर्क बेस कल्चर’ आवश्यक रहेको बताएका छन् ।

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ग्रामीण क्षेत्रमा वर्क बेस कल्चर कायम गरेर राष्ट्रिय अर्थतन्त्रसँग कसरी जोड्ने भन्नेमा केन्द्रित हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘समावेशीकरण र क्लाइमेट चेन्जजस्ता विषय सुनेर हामी थाकिसक्यौं । अब ग्रामीण क्षेत्रमा वर्क बेस कल्चर कायम गरेर हाम्रो अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग कसरी जोड्ने भन्नेमा केन्द्रित हुन आवश्यक छ । जानसांख्यिक लाभको आधारमा नेपालको अर्थतन्त्रलाई अघि बढाउनुपर्छ ।’

पौडेलले ग्रामीण अर्थतन्त्र र राष्ट्रिय अर्थतन्त्रबीचको सम्बन्धलाई सुदृढ बनाउन कार्यशील दृष्टिकोण र संरचनात्मक सुधार आवश्यक भएको बताए ।
साथै, उनले ग्रामीण अर्थतन्त्रले जागिर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘हाम्रो ग्रामीण क्षेत्रको पूर्वाधार (इन्फ्रास्ट्रक्चर) कस्तो छ भन्ने कुरा पनि महत्वपूर्ण छ । त्यसले ग्रामीण क्षेत्रमा भएका उत्पादन, सीप र क्षमतालाई बजारसम्म जोड्न मद्दत पुर्याउन सक्छ ।’

कार्यक्रममा संघीयताविज्ञ खिमलाल देवकोटाले संघीयतालाई बलियो बनाए ग्रामीण अर्थतन्त्रमा सुधार आउने बताउँदै यसमा स्थानीय तहको भूमिका प्रभावकारी हुने बताए । आप्रवासनबारे जानकारी सीता घिमिरेले प्रत्येक दिन १७ सय युवा विदेश पलायन भइरहेकाले स्वदेशमै रोजगारीका अवसरहरु खोज्नुपर्ने बताइन् ।