सिन्धुपाल्चोक । नेकपा (एमाले) सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय निर्णयबाट उम्मेदवार तोकिएका आङदोर्जे शेर्पाले अन्तिम समयमा आफूलाई उम्मेदवारीबाट बञ्चित गरिएको घटनालाई अन्यायपूर्ण, अपारदर्शी र पार्टी पंक्तिको आत्मसम्मानमाथिको आघात भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै शेर्पाले उम्मेदवार चयन भइसकेपछि पनि विभिन्न चलखेल र दबाबका कारण निर्णय उल्ट्याइएकोप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। “यो घटनाले केवल मलाई मात्र होइन, सिन्धुपाल्चोक–१ का हजारौँ एमाले कार्यकर्ता र समर्थकको आत्मसम्मानमा चोट पुर्याएको छ,” उनले लेखेका छन्।
चुनाव जित-हार स्वाभाविक प्रक्रिया भए पनि यसरी मौन बस्न बाध्य पारिनु निष्ठावान कार्यकर्ता र समर्थकका लागि असह्य पीडा भएको उनको भनाइ छ। समर्थकहरूले भोगेको अपमानलाई उनले आफ्नै पीडासँग जोड्दै प्रस्तुत गरेका छन्।
तर, शेर्पाले उक्त घटनाले आफूलाई विचलित नभई अझ जिम्मेवार बनाएको स्पष्ट पारेका छन्। “म समाज विकास, जनसेवा र पार्टीको दीर्घकालीन हितप्रति अझै पनि दृढ छु,” भन्दै उनले पार्टीभित्र समीक्षा पछि गरिने संकेत गरेका छन्।
उनले आफ्ना समर्थक, शुभचिन्तक र मतदातालाई निराश नहुन, भ्रममा नपर्न र पार्टी विचारबाट विचलित नहुन आग्रह गरेका छन्। नेकपा (एमाले) को झण्डा र सूर्य चिन्हलाई सामूहिक पहिचानको रूपमा जोगाउनुपर्नेमा उनले जोड दिएका छन्।
देश गम्भीर राजनीतिक अवस्थामा रहेको उल्लेख गर्दै शेर्पाले नेकपा (एमाले) विरुद्ध चौतर्फी घेराबन्दी भइरहेको दाबी गरेका छन्। देशी–विदेशी शक्तिहरूको षड्यन्त्रविरुद्ध एकताबद्ध भएर उभिन आग्रह गर्दै उनले आगामी निर्वाचनमा सूर्य चिन्हमै मतदान गर्न अपिल गरेका छन्।
“व्यक्तिलाई अन्याय हुन सक्छ, तर विचारलाई कमजोर बनाउन दिनु हुँदैन,” भन्दै शेर्पाले सूर्य चिन्हमा हुने मतदानलाई स्वाभिमान, संघर्ष र भविष्यप्रतिको प्रतिबद्धता भएको बताएका छन्।
अन्त्यमा उनले पीडा, संघर्ष र परिवर्तनको यात्रामा सधैं जनतासँगै रहने प्रतिबद्धता दोहोर्याएका छन्।
