काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले हाल बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिए पनि समग्र वित्तीय क्षेत्र कमजोर अवस्थामा नरहेको स्पष्ट पारेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले समय–समयमा विभिन्न कारणले बैंकिङ क्षेत्रमा समस्या देखिनु स्वाभाविक भएको उल्लेख गरे ।
उनले भने, ‘अहिले बैंकिङ क्षेत्रमा र वित्तीय क्षेत्रमा केही समस्या रहेको छ भन्ने कुरा गरिरहँदा वित्तीय क्षेत्र त्यति कमजोर चाँही छैन । कमजोर नहुँदा नहुँदै पनि बेलाबेलामा विभिन्न कारणले समस्या आउनु स्वभाविक हो । त्यस कारण अहिले केही बैंकहरुको सम्पत्तिको गुणस्तर कर्जाको गुणस्तरको सम्बन्धमा परीक्षण गर्ने काम करिब करिब सम्पन्न हुने क्रममा छ ।’
उनले अहिले केही बैंकहरूको सम्पत्ति तथा कर्जाको गुणस्तर सम्बन्धी परीक्षणको काम करिब सम्पन्न हुने क्रममा रहेको जानकारी दिए ।
अर्थमन्त्री खनालले राष्ट्रिय वाणिज्य बैंकको अवस्थाबारे चर्चा गर्दै बैंकको स्थिति त्यति खराब नरहेको बताए । बैंकको खराब कर्जाको स्तर अघिल्लो वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा केही घटेको र यो अवस्था अत्यन्तै चिन्ताजनक नभएको उनले बताए ।
उनले भने, ‘हामीले सुने अनुसार राष्ट्रिय वाणिज्य बैंकको अवस्था त्यति खराब पनि छैन । वाणिज्य बैंकको खराब कर्जाको स्तर चाँही विगतको तुलनामा केही खस्किएको छ । त्यो ज्याँदै चिन्ताजनक अवस्थामा होइन । सुधार गर्न सकिने अवस्थामा छ । बैंकसँग भएको पूँजीको प्रर्याप्त उपयोग गर्न सकिएको छैन, लगानीका नयाँ अवसरहरु खोज्न सकिएको छैन ।’
