माछापुच्छ्रे बैंकको नाफामा सन्तुलित वृद्धि

चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंक लिमिटेडले नाफामा सुधार देखाएको छ। बैंकले यस अवधिमा अघिल्लो वर्षको तुलनामा २५.२५ प्रतिशतले खुद नाफा वृद्धि गर्दै १ अर्ब १ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ।

बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको नाफा १ अर्ब १ करोड ११ लाख रुपैयाँ पुगेको हो। गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

साउनदेखि पुस मसान्तसम्म बैंकको सञ्चालन मुनाफा भने १०.२२ प्रतिशतले घटेको छ। इम्पेरमेन्ट चार्ज बढेर ५७ करोड ४२ लाख रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा १ अर्ब ४५ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ६२ करोड २७ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.१६ प्रतिशतले बढेर २ अर्ब ९४ करोड १० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ थियो।

यसैगरी, खुद फि तथा कमिशन आम्दानीमा उल्लेखनीय सुधार देखिएको छ। बैंकको फि तथा कमिशन आम्दानी २२.१२ प्रतिशतले बढेर ८२ करोड ७ लाख ९९ हजार रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ २२ पैसा कायम भएको छ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २ रुपैयाँ ८४ पैसा बढेर १६ रुपैयाँ ७३ पैसा पुगेको छ। बैंकको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १३.६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१.६ रुपैयाँ पुगेको छ।

वित्तीय संरचनातर्फ बैंकको चुक्तापुँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ। बैंकको सेयर प्रिमियम ३ करोड ८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ४३ करोड ६३ लाख रुपैयाँ र विभिन्न रिजर्भमा ६ अर्ब ९८ करोड १८ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ४ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। नाफा र आम्दानीमा देखिएको वृद्धि भए पनि इम्पेरमेन्ट खर्चका कारण सञ्चालन मुनाफामा दबाब देखिएको छ, जसका बाबजुद बैंकको समग्र वित्तीय अवस्था सन्तुलित देखिएको छ।