नक्कली उद्धारमाथि कडा कारबाहीको थालनी

चार्टर तथा नियमित उडानलाई ‘उद्धार’को रूपमा देखाएर विदेशी बीमा कम्पनीबाट करोडौँ रुपैयाँ ठगी गरिएको संगठित गिरोहको गतिविधि सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको विस्तृत अनुसन्धानमा ट्रेकिङ तथा ट्राभल कम्पनी, हेलिकप्टर सेवा प्रदायक, अस्पताल र पर्यटक गाइडको मिलेमतोमा नक्कली उद्धार देखाई बीमा रकम दाबी गरिएको प्रमाण फेला परेको हो।

सीआईबीले आइतबार लाजिम्पाटस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराउँदै चार्टर उडानलाई समेत उद्धार देखाएर बीमाको रकम लिइँदै आएको पुष्टि गरेको छ। ब्युरोका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका अनुसार यी उद्धारहरू वास्तविक नभई पूर्ण रूपमा नक्कली रहेको खुलेको छ।

अनुसन्धानका क्रममा नियमित उडानलाई उद्धार देखाउने, उद्धारको समय तालिका र यात्रु विवरण नक्कली बनाउने तथा एउटै चार्टर उडानमा आएका पर्यटकलाई फरक–फरक उद्धार देखाउँदै ‘मल्टिपल बिलिङ’ गरिएको तथ्य पनि उजागर भएको छ। पदयात्रा सकेर सोही मार्ग हुँदै फर्किने पर्यटकलाई सहजै सहमत गराई चार्टर उडानमार्फत काठमाडौं ल्याइने र त्यसलाई उद्धारका रूपमा देखाइने गरेको सीआईबीले जनाएको छ।

नक्कली उद्धारसम्बन्धी उजुरी २०८१ पुस १ गते र त्यसअघि २०८२ असोज १२ गते समेत परेको थियो। पुस महिनामै गृह मन्त्रालयले पनि यस विषयमा अनुसन्धान गर्न सीआईबीलाई औपचारिक पत्राचार गरेको थियो। पछिल्ला तीन वर्षका यस्ता घटनालाई समेटेर विस्तृत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

छ जना पक्राउ, तीन कम्पनी केन्द्रमा

साढे दुई महिनादेखि छुट्टै कार्यदल बनाएर अनुसन्धान थालेको सीआईबीले नक्कली उद्धारमार्फत बीमा रकम हत्याएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी छन्।

यी तीन कम्पनीबाट मात्र ३१७ जना पर्यटकको नक्कली उद्धार गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। माउन्टेन रेस्क्यु सर्भिसले सन् २०२२ देखि २०२५ सम्म १,२४८ जनाको उद्धार देखाएकोमा १७१ जना नक्कली रहेको र त्यसवापत १ करोड ३ लाख १० हजार २७६ अमेरिकी डलर बीमा रकम लिएको पाइएको छ।

नेपाल चार्टर सर्भिसले ४१७ जनाको उद्धारमध्ये ७५ जना नक्कली देखाई ८२ लाख ३४ हजार ८२ अमेरिकी डलर लिएको छ। एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्सले ६०१ जनाको उद्धारमध्ये ७१ जना नक्कली देखाई ११ लाख ५३ हजार ९१९ अमेरिकी डलर प्राप्त गरेको सीआईबीले जनाएको छ। हालसम्म यी तीन कम्पनीले नक्कली उद्धारमार्फत करिब १ करोड ९६ लाख ९० हजार अमेरिकी डलर बराबरको बीमा रकम हत्याएको दाबी गरिएको छ।

बीमा कम्पनी सतर्क

नक्कली उद्धारका घटना बढेपछि विदेशी बीमा कम्पनीहरू घाटामा पर्न थालेका छन्। यसकै कारण हाल तीन वटा बीमा कम्पनीले पर्यटक बीमाको प्रिमियम नै रोकिसकेको र अत्यधिक उद्धार देखाइएका केही बीमा दाबी अस्वीकारसमेत गरिएको सीआईबीका अधिकारीहरूले बताएका छन्।

गम्भीर संगठित अपराधको निष्कर्ष

पक्राउ परेकाविरुद्ध संगठित अपराध, ठगी, लिखत किर्ते, आपराधिक लाभ, राज्यविरुद्धको कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। पर्यटकलाई लेक लाग्ने डर देखाएर नक्कली उद्धार गराई बीमा दाबी गरिएको कार्यले नेपालको अन्तर्राष्ट्रिय छवि, प्रतिष्ठा र स्वाभिमानमा क्षति पुगेको निष्कर्ष सीआईबीको छ।

नक्कली उद्धारका कारण वास्तविक उद्धारको प्रतीक्षामा रहेका पर्यटकको ज्यानसमेत जोखिममा पर्न सक्ने भन्दै सीआईबीले यसलाई गम्भीर संगठित अपराधका रूपमा लिई कडा कारबाही अघि बढाएको जनाएको छ।

prvtrhnn_ttrkngg_ksstrm_bhek_fake_rescue_m_slgn_6_jn_vykthr_pkru_2082-10-11