काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले वाणिज्य बैंक समूह अन्तर्गत ‘कर्पोरेट एक्सिलेन्स अवार्ड–२०२५’ प्राप्त गरेको छ। मानव संसाधन व्यवस्थापन संस्था (एचआरएम) द्वारा प्रदान गरिएको उक्त सम्मानले बैंकको समग्र संस्थागत क्षमता, सेवा गुणस्तर, सुशासन र वित्तीय उत्कृष्टताको उच्च मूल्याङ्कन भएको संकेत गरेको छ।
बैंकका अनुसार यो अवार्डले ग्राहककेन्द्रित सेवा, प्रविधिमैत्री बैंकिङ, दिगो वित्तीय अभ्यास तथा मानव संसाधन व्यवस्थापनमा बैंकले गर्दै आएको निरन्तर सुधार र नवप्रवर्तनलाई राष्ट्रिय स्तरमा पुनः पुष्टि गरेको छ। सिद्धार्थ बैंकले पछिल्लो समय डिजिटल बैंकिङ, समावेशी वित्त, साना तथा मझौला उद्यम प्रवर्द्धन र हरित वित्तजस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
यस सम्मानलाई बैंकले सम्पूर्ण ग्राहक, सेयरधनी, कर्मचारी तथा सरोकारवालाको साझा उपलब्धिका रूपमा लिएको छ। बैंकले आगामी दिनमा पनि सुरक्षित, भरपर्दो र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणमा थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
