सुनचाँदी सस्तो हुँदै, खरिदकर्तालाई राहत

नेपाली बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि उल्लेख्य रूपमा घट्दा उपभोक्तालाई राहत पुगेको छ। पछिल्लो तीन दिनको अवधिमा मात्रै छापावाला सुनको मूल्य प्रतितोला ५२ हजार ७०० रुपैयाँले घटेको हो।

गत शुक्रबार एकैदिन प्रतितोला २० हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आइतबार पुनः १८ हजार ८०० रुपैयाँले ओरालो लागेको थियो। मूल्य घट्ने क्रम आज सोमबार पनि जारी रहँदा सुन प्रतितोला थप १३ हजार ४०० रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार भने सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको भाउ प्रतितोला ३०० रुपैयाँले घटेर ५ हजार २०० रुपैयाँमा झरेको छ। हिजो आइतबार चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।