इरान–अमेरिका तनाव: खामेनेईले क्षेत्रीय सुरक्षा चेतावनी

काठमाडौँ – इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाले इरानमाथि कुनै पनि हमला गरेमा क्षेत्रीय द्वन्द्व फैलने चेतावनी दिएका छन्। अमेरिकाले क्षेत्रमा आफ्नो सैन्य शक्ति बढाइरहेको बेला खामेनेईको यो चेतावनी आएको हो।

इरानी अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार खामेनेईले भनेका छन्, “अमेरिकीहरूले युद्ध शुरू गरे भने यसपालि एउटा क्षेत्रीय युद्ध सुरु हुनेछ।”

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग ‘गम्भीर छलफल’ भइरहेको र केही स्वीकार्य सहमतिमा पुग्न सकिने आशा व्यक्त गरेका थिए। इरानका विदेशमन्त्री अब्बास अरागचीले भने, तेहरानको पारमाणविक कार्यक्रमबारे “एउटा सहमति हुनेमा विश्वस्त” रहेको बताएका छन्।

पारमाणविक कार्यक्रम र सरकारविरोधी प्रदर्शनकारमाथि गरिएको दमनलाई लिएर ट्रम्पले इरानमाथि आक्रमण गर्न सक्ने चेतावनी दिँदै आएका छन्। तर अरागचीले भने, “अमेरिकामाथि हाम्रो विश्वास गुमिसकेको छ, तर मित्रवत् राष्ट्रहरू मार्फत सन्देश आदानप्रदान हुँदै छ र नतिजामुखी वार्ताका लागि समन्वय भइरहेको छ।”

सैन्य शक्ति बढाउने प्रयासअनुसार अमेरिकाले आफ्नो विमानवाहक पानीजहाज ‘यूएसएस अब्राहम लिङ्कन’लाई उक्त क्षेत्रमा पठाएको छ। अमेरिकाले अरेबियन सागरमा पनि आफ्नो सेनालाई परिचालन गरेको छ। खामेनेईले भने, “ट्रम्पले जहाजहरू पठाउँछन् भने पनि इरान डराउने छैन।”

इरानले स्ट्रेट अफ होर्मुजमा प्रत्यक्ष नौसैनिक अभ्यास गर्ने योजना बनाएको बताएको थियो। स्ट्रेट अफ होर्मुज विश्वको व्यस्त र महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग हो। अमेरिकाले उक्त क्षेत्रमा ‘असुरक्षित र गैरव्यावसायिक व्यवहार’ नगर्न इरानलाई चेतावनी दिएको छ।

इरानमा शनिबार दुईवटा विस्फोटका घटनाले तनाव बढाएको थियो। दक्षिणी बन्दरगाह शहर बान्दर अब्बासमा ग्यास चुहावटका कारण भएको विस्फोटमा एक जनाको मृत्यु र १४ जना घाइते भएका छन्। दक्षिण–पश्चिमी अहवाज शहरमा अर्को विस्फोटमा चार जनाको ज्यान गएको थियो।

इरान–अमेरिका बीचको तनाव बढिरहेको भए पनि खामेनेई र सरकारका वरिष्ठ अधिकारीहरूले क्षेत्रीय सुरक्षा र शान्ति कायम राख्ने प्रतिबद्धता दोहोर्याएका छन्।

(स्रोत: बीबीसी नेपाली)