काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को २९औँ वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा ‘विश्वव्यापी लेखा तथा वित्तीय आउटसोर्सिङ: प्रवृत्ति, क्षेत्रीय दृष्टिकोण र उदीयमान अवसरहरू’ विषयक सम्मेलन सम्पन्न भएको छ।
सम्मेलनको पहिलो सत्रमा सरकारको स्थायित्व, व्यवसाय गर्न सहजता, भाषिक दक्षता, विशेष योग्यताको गहिराइ र प्राविधिक दक्षतालाई आउटसोर्सिङ बजारका प्रमुख प्रेरक तत्वको रूपमा प्रस्तुत गरिएको थियो। सहभागीहरूले प्रविधि अनुकूलन, सीप विकास र रणनीतिक नेतृत्वमा लगानी गर्दै रोबोटिक प्रोसेस अटोमेसन (आरपीए) र एआई आधारित लेखा प्रणालीतर्फ रूपान्तरण गर्न सकिएमा नेपालले विश्वव्यापी लेखा तथा वित्तीय सेवाको आउटसोर्सिङ बजारमा प्रतिस्पर्धी राष्ट्रको रूपमा स्थापित हुन सक्ने धारणा व्यक्त गरेका थिए।
पहिलो सत्रको अध्यक्षतामा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगर र प्रमुख मन्तव्य प्रस्तुत गर्न डाइरेक्टर अफ रिमोट सर्भिसेज डेविड हिल रहेका थिए। प्यानलिस्टमा एजीके पार्टनरका सरोज सापकोटा, जेएचएस कन्सल्टिङका आउटसोर्सिङ पार्टनर तथा सेन्टर अफ एक्सेलेन्सका प्रमुख सीए धवलकुमार दीपक ठक्कर, र स्ट्रेलिङ वेल्सका ऋभ्इ सीए राजु गजुरेल रहेका थिए।
दोस्रो सत्र ‘नेपालमा बीपीओ/केपीओ/आईटी आउटसोर्सिङ: प्रवृत्ति, आर्थिक प्रभाव र नीतिगत हस्तक्षेप’मा वर्तमान नीति, चुनौती, पहल र आगामी मार्गचित्रमाथि छलफल भएको थियो। सीए आनन्दराज शर्मा वाग्लेले ‘ग्लोबल अकाउन्टिङ इनिसिएटिभ’ परियोजनाले आगामी एक दशकमा वार्षिक १ लाख ५० हजार रोजगारी सिर्जना र ६ अर्ब अमेरिकी डलरभन्दा बढी वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य राखेको जानकारी दिएका थिए।
तेस्रो सत्रमा आउटसोर्सिङ व्यवसायमा संलग्न पेशाकर्मीहरूको अनुभव आदानप्रदान केन्द्रित छलफल गरिएको थियो। प्यानलले नेपालका फर्महरूले बुककिपिङ मात्र होइन, विशेषीकृत सेवा, मानव संसाधन विकास र कार्यसंस्कृतिमा सुधार गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
साँझमा आइक्यानको २९औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको थियो। अर्थमन्त्री रामेश्वर खनालले संस्थाको योगदानको प्रशंसा गर्दै वित्तीय सेवा निर्यातमा नेपालको ठूलो सम्भावना रहेको बताएका थिए। महालेखानियन्त्रक शोभाकान्त पौडेल र महालेखापरीक्षक तोयम रायाले पनि वित्तीय सेवा र लेखापरीक्षणमा चार्टर्ड एकाउन्टेन्टहरूको योगदान तथा नवीनतम प्रविधि प्रयोगको महत्वमा जोड दिएका थिए।
संस्थाका अध्यक्ष सीए निलबहादुर सारु मगरले आइक्यानको वर्तमान रणनीति, ग्लोबल अकाउन्टिङ इनिसिएटिभ, क्याम्पस प्लेसमेन्ट परियोजना र समझदारीबारे जानकारी दिएका थिए। उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै समारोह समापन गरेका थिए।
साथै, प्रमुख अतिथिले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरी विभिन्न प्रतियोगिताका विजेतालाई ट्रफी, पदक र प्रमाणपत्र वितरण गरेका थिए।
