काठमाडौँ । ‘आयोडिन मन्थ’ को अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आयोडिनयुक्त नूनबारे फैलाइँदै आएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरोकारवालाले वैज्ञानिक तथ्यका आधारमा सचेतना बढाउनुपर्नेमा जोड दिएका छन्।काठमाडौँमा आयोजित एक कार्यक्रममा स्वास्थ्य विज्ञ, सरकारी निकाय र उपभोक्ता अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले प्याकेजिङका बेला नूनमा ५० पीपीएम आयोडिन मिसाइने र ढुवानी तथा भान्छासम्म पुग्दा करिब ३० पीपीएम रहने जानकारी दिनुभयो। नेपाली खाना पकाउने परम्परामा आयोडिनको केही अंश नष्ट हुने भएकाले हाल कायम गरिएको मात्रा उपयुक्त रहेको उहाँको भनाइ छ। आयोडिन अत्यधिक छ भन्ने प्रचार भ्रामक रहेको उल्लेख गर्दै उहाँले उपभोक्तालाई अफवाहमा नपर्न आग्रह गर्नुभयो।
साल्ट ट्रेडिङ कर्पोरेशन नेपालकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले श्रीलङ्कामा आयोडिन घटाउँदा देखिएको नकारात्मक असरको उदाहरण दिँदै नेपालले त्यस्तो गल्ती नगर्नुपर्ने बताउनुभयो। कर्पोरेशनले सरकारी मापदण्डअनुसार नूनमा उचित मात्रामा आयोडिन मिसाएर देशभर वितरण गर्दै आएको र कम्तीमा ६ महिनाका लागि पुग्ने मौज्दात राख्ने गरेको जानकारी दिनुभयो।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अवैध रूपमा आयोडिनरहित नून महँगो मूल्यमा बिक्री भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता गतिविधिविरुद्ध कडा कारबाही आवश्यक रहेको बताउनुभयो। जनस्वास्थ्यविद् अरुणा उप्रेतीले आयोडिनयुक्त नून मानव शरीरका लागि अत्यावश्यक पोषक तत्त्व भएको उल्लेख गर्दै यसको कमीले गलगाँड, गर्भसम्बन्धी समस्या लगायत गम्भीर असर पार्न सक्ने बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले वैज्ञानिक आधारबिनै फैलाइँदै आएको आयोडिनबारेको भ्रम तत्काल चिर्न र जनस्वास्थ्यको संरक्षणका लागि सचेतना अभियानलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेका छन्।
