सुनचाँदीमा गिरावट, बजारमा केही सहजता

काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको थियो। बुधबार कीर्तिमानी उचाइमा पुगेको सुनको भाउ पछिल्ला दुई दिनदेखि निरन्तर ओरालो लागेको हो।

यसैगरी, चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ। चाँदी प्रतितोला २७० रुपैयाँले घटेर ४ हजार ७१० रुपैयाँमा झरेको छ। हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।