काठमाडौंमा ‘बलेयो एक्स्पेरियन्स’ मेला उत्साहजनक रूपमा सञ्चालन

काठमाडौं। सागर ग्रुपको आयोजनामा तथा एक्सलाबको प्रवर्द्धनमा ‘बलेयो एक्स्पेरियन्स: प्रविधि तथा जीवनशैली मेलाको चौथो संस्करण’ काठमाडौंमा उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ । माघ २२ गतेदेखि सुरु भएको यो ६ दिने मेला माघ २७ गतेसम्म सञ्चालन हुनेछ ।

मेलाको दोस्रो दिनसम्म आइपुग्दा आगन्तुक तथा सहभागी ब्रान्डहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको आयोजकले जनाएका छन्। मेलामा नेपालकै स्वदेशी ब्रान्ड एक्सलाबसहित विभिन्न अन्तर्राष्ट्रिय स्तरका प्रविधि कम्पनीका नवीनतम उत्पादन तथा समाधानहरू प्रदर्शनीमा राखिएका छन् ।

मेलाका प्रमुख आकर्षणमा अन्तरक्रियात्मक प्रदर्शनी, प्रत्यक्ष प्रयोग अनुभव, प्राविधिक विज्ञद्वारा प्रदान गरिने तालिम, तथा मेला अवधिभर उपलब्ध विशेष छुट र आकर्षक अफरहरू रहेका छन् । साथै, यो मेला डिलर, थोक व्यापारी र उपभोक्तालाई एकै स्थानमा जोड्ने साझा मञ्चका रूपमा विकसित भएको छ ।

कार्यक्रमका विषयमा सागर ग्रुपकी निर्देशक बुद्धलक्ष्मी मानन्धरले यो मेला केवल प्रदर्शनी मात्र नभई उपभोक्ताबाट प्रत्यक्ष प्रतिक्रिया र सुझाव प्राप्त गर्ने प्रभावकारी माध्यम बनेको बताउनुभयो । उहाँका अनुसार उपभोक्ताको आवश्यकता बुझेर अझ गुणस्तरीय सेवा प्रदान गर्न यो प्लेटफर्म उपयोगी सावित हुँदै आएको छ ।

त्यस्तै, क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा साइबर सुरक्षा कम्पनी वान कभरका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीले यस मेलाले सम्पूर्ण उपभोक्ता प्रविधि क्षेत्रलाई एकै छानामुनि ल्याएको उल्लेख गर्दै नेपालको डिजिटल रूपान्तरण यात्रामा यसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

नेपालकै सबैभन्दा ठूलो र दीर्घकालीन रूपमा सञ्चालन हुँदै आएको यस प्रविधि मेलामा भावी प्रविधि, कृत्रिम बुद्धिमत्ता, इन्टरनेटमा आधारित उपकरण, वित्तीय प्रविधि, स्मार्ट यातायात तथा स्वास्थ्य प्रविधि जस्ता क्षेत्रमा केन्द्रित रहेर प्रदर्शनी तथा छलफल पनि भइरहेको छ ।

आयोजकले प्रविधिप्रेमी, व्यवसायी तथा विद्यार्थीहरूलाई मेलामा सहभागी भई नयाँ प्रविधिको प्रत्यक्ष अनुभव लिन आग्रह गरेका छन् ।