काठमाडौं । सरकारले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन ड्रोनको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर आकाशबाट तस्वीर तथा भिडियो खिच्ने सबै प्रकारका ड्रोन प्रयोग गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ।
निर्वाचनका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि, संगठित समूहको चलखेल तथा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सरकारले यो निर्णय लिएको हो। जेन जी आन्दोलनका क्रममा लुटिएका १२ सयभन्दा बढी हतियार, फरार कैदीबन्दी र सम्भावित आपराधिक गतिविधिले निर्वाचन सुरक्षामा असर पार्न सक्ने आँकलन गरिए पनि सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले ड्रोन प्रयोगले झनै भ्रम र अविश्वास सिर्जना गर्न सक्ने निष्कर्ष सरकारको रहेको छ।
गृह मन्त्रालयका अधिकारीका अनुसार ड्रोनमार्फत खिचिएका दृश्य सामाजिक सञ्जालमा सम्प्रेषण हुँदा गलत सन्दर्भमा प्रयोग हुने, मिथ्या सूचना फैलिने र त्यसले समग्र निर्वाचन प्रक्रियाको विश्वसनीयता र पारदर्शितामाथि प्रश्न उठ्ने जोखिम देखिएकाले प्रतिबन्ध आवश्यक ठानिएको हो। यद्यपि ड्रोन नहुँदा बूथ कब्जा, झडप, मुठभेड वा सुरक्षा कमजोरीका दृश्य प्रमाण संकलनमा चुनौती आउने पनि स्वीकार गरिएको छ।
ड्रोनसँगै सरकारले सामाजिक सञ्जाल प्रयोगमा पनि कडा निगरानी गर्ने नीति लिएको छ। मिथ्या, भ्रमपूर्ण, घृणात्मक तथा लाञ्छनायुक्त सामग्री सामाजिक सञ्जालमा प्रकाशित नगर्न सरकारको आग्रह छ। यस्ता गतिविधि गरे कानुनी कारबाही हुने स्पष्ट चेतावनी पनि दिइएको छ।
निर्वाचनलाई प्रभावकारी रूपमा निगरानी गर्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक प्रविधियुक्त युनिटलाई थप सशक्त बनाइँदैछ। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने, झुटा सूचना फैलाउने र सामाजिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न व्यक्तिमाथि प्रहरी टोलीले निरन्तर निगरानी गरिरहेको गृह मन्त्रालयले जनाएको छ।
सरकारले यी कदमले निर्वाचन प्रक्रिया अझ सुरक्षित, विश्वसनीय र जनविश्वासयोग्य बन्ने विश्वास व्यक्त गरेको छ।
