ताकाइचीलाई ऐतिहासिक जनविश्वास

काठमाडाैं । जापानको प्रधानमन्त्री निर्वाचनमा सानाए ताकाइची नेतृत्वको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले ऐतिहासिक तथा अत्यधिक बहुमत हासिल गरेको छ। आइतबार सम्पन्न निर्वाचनमा मतदाताहरूले एलडीपीलाई स्पष्ट र बलियो समर्थन जनाउँदै ताकाइचीको नेतृत्वलाई पुनः अनुमोदन गरेका हुन्।

मध्यावधि निर्वाचनमार्फत राजनीतिक जोखिम मोलेकी प्रधानमन्त्री ताकाइचीका लागि यस निर्वाचनलाई जनमत संग्रहकै रूपमा हेरिएको थियो। ४६५ सदस्यीय तल्लो सदनमा एलडीपी एक्लैले ३१० भन्दा बढी सिट जित्न सफल भएको छ। दोस्रो विश्वयुद्धपछि जापानमा कुनै एक दलले दुई–तिहाइ बहुमत प्राप्त गरेको यो पहिलो ऐतिहासिक घटना हो। सत्तारुढ गठबन्धनले समग्रमा ३४० भन्दा बढी सिट जितेको छ।

निर्वाचन परिणामपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ताकाइचीले जिम्मेवार र सक्रिय वित्तीय नीतिका लागि आफूले जनादेश मागेको बताइन्। “यो जनसमर्थनले जापानी अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाउन मद्दत गर्नेछ,” उनले भनिन्।

जापानकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा इतिहास रचेकी ताकाइचीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पनि खुलेर प्राप्त भएको थियो। ट्रम्पले सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिँदै साहसी र दूरदर्शी निर्णयले ठुलो सफलता दिलाएको उल्लेख गरेका छन्। ताकाइचीले पनि सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ट्रम्पलाई धन्यवाद दिँदै अमेरिका–जापान गठबन्धनको भविष्य “असीमित सम्भावनायुक्त” रहेको प्रतिक्रिया दिएकी छिन्।

तल्लो सदनमा प्राप्त दुई–तिहाइ बहुमतले ताकाइचीलाई माथिल्लो सदनका निर्णय उल्ट्याउने, संविधान संशोधनका प्रस्ताव अघि बढाउने र दीर्घकालीन नीतिगत सुधार गर्ने बलियो आधार दिएको छ। अब उनले वृद्ध हुँदै गएको जनसंख्या, बढ्दो महँगी, कमजोर हुँदै गएको येन र चीनसँगको जटिल सम्बन्धजस्ता चुनौतीहरू सामना गर्न नयाँ जनादेश पाएकी छिन्।

गत असोजमा तत्कालीन प्रधानमन्त्री शिगेरु इशिबाको राजीनामापछि सत्तामा आएकी ताकाइचीले आफ्नो पद नै दाउमा राख्दै संसद भंग गरेकी थिइन्। उनको निर्णायक नेतृत्व, सामाजिक सञ्जालमा सक्रिय उपस्थिति र ‘मार्ग्रेट थ्याचर’ बाट प्रेरित राजनीतिक छविले उनलाई जापानी जनतामाझ अझ लोकप्रिय बनाएको विश्लेषकहरू बताउँछन्।