घरको सपना पूरा गर्न एनआईसी एशिया बैंकको आकर्षक ‘साथी घर कर्जा’

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूको घर खरिद तथा निर्माणसम्बन्धी आवश्यकतालाई लक्षित गर्दै ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले अधिकतम रू. १० करोडसम्म घर कर्जा उपलब्ध गराउने जनाएको छ ।

बैंकका अनुसार यो कर्जा ७ वर्षसम्मका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध हुनेछ । न्यूनतम रू. २५ लाखदेखि अधिकतम रू. १० करोडसम्म प्रदान गरिने कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ ।

यस कर्जा योजनाबाट घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनःनिर्माण र घडेरी खरिद गर्न सकिनेछ । सहज कर्जा प्रक्रिया मार्फत उपलब्ध गराइने यो योजनाले घरको सपना साकार पार्न ठोस टेवा पुग्ने बैंकको विश्वास छ ।

पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकका लागि कर्जा र धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशतसम्म तोकिएको छ भने अन्य ग्राहकका हकमा यो अनुपात अधिकतम ७० प्रतिशत कायम गरिएको छ ।

यसबाहेक, ‘साथी घर कर्जा’ लिने ग्राहकले लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा समेत प्राप्त गर्नेछन् । बैंकका प्रमुख सूचना अधिकारी राजेश रावलका अनुसार यो योजना ग्राहकमैत्री र दीर्घकालीन फाइदा दिने खालको रहेको छ ।