मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार फेरि पक्राउ परेका छन्।
प्रहरीले प्रसाईंलाई हिजो सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। अहिले उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँका राखिएको प्रहरी उपरीक्षक ९एसपी० पवनकुमार भट्टराईले बताए।
प्रसाईं एक साताअघि मात्रै रिहा भएका थिए। यसअघि उनलाई माघ २३ मा काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलबाट पक्राउ गरिएको थियो।
वीरगञ्जमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाँदा पक्राउ परेका थिए। दुई दिन प्रहरी हिरासतमा बसेका उनी माघ २५ मा हाजिरी जमानीमा छुटेका थिए।
त्यतिवेला प्रसाईंले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले पत्राचार गरेपछि प्रहरीले पक्राउ गरेको थियो। अहिले पनि निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाई यसअघि पनि पटक पटक पक्राउ पर्दै र छुट्दै आएका थिए।
