सूर्यकुण्ड हाइड्रोको आइपीओ बाँडफाँट सम्पन्न

  • Clock icon
    २०८२ फाल्गुन ५, मंगलवार

काठमाडाैं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको साधारण सेयर (आइपीओ) बाँडफाँट सम्पन्न भएको छ। आज बिहान ९ बजे कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको हो।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ। सो अनुसार ५७ हजार २४३ जना आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि शेष रहेको १ कित्ता सेयर सोही समूहका लगानीकर्तामाझ वितरण गर्दा १ जना आवेदकले थप १ कित्ता सहित कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।

कम्पनीले गत माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको थियो।

उक्त आइपीओमा कुल २४ लाख ५२ हजार ६०२ जनाले २ करोड ६१ लाख ३२ हजार ८०० कित्ता सेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २४ लाख ११ हजार ९९२ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

आइपीओ बाँडफाँट सम्पन्न भएसँगै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको सेयर सूचीकृत भई दोस्रो बजारमा कारोबार सुरु हुने प्रक्रियामा थप प्रगति हुने अपेक्षा गरिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन ५, मंगलवार