काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका अनलाइन भुक्तानी सेवामा ५० प्रतिशत सेवा शुल्क छुट दिने विशेष योजना सार्वजनिक गरेको छ। बैंकले अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्कलगायतका भुक्तानीमा लाग्ने सेवा शुल्कमा यो छुट उपलब्ध गराउने जनाएको छ।
योजनाअन्तर्गत नेपाली विद्यार्थीहरूले आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज फि, भिसा शुल्क, बीमा शुल्कलगायत शैक्षिक प्रयोजनका सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट पाउनेछन्। उक्त सुविधा जुलाई ३१, २०२६ सम्म लागू रहने बैंकले जानकारी दिएको छ।
ग्राहकको सुविधा र पहुँचलाई प्राथमिकतामा राख्दै बैंकले यो सेवा आफ्ना ११७ शाखामार्फत विस्तार गरेको छ। योजनाअन्तर्गत छुट र सेवा उपलब्ध हुने शाखा कार्यालयसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको छ।
ग्लोबल आइएमई बैंक हालै Global Financeको बेस्ट बैंक अवार्ड २०२४ तथा Euromoneyको अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित भएको छ। बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट समेत फरक–फरक विधामा सम्मानित हुँदै आएको छ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरी १,००० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
बैंकले नेपालभित्र बैंकिङ सेवा प्रदान गर्नुका साथै अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।
