काठमाडौँ । बीबीसी वर्ल्ड सर्भिसको अनुसन्धान इकाईले भदौ २३ (सेप्टेम्बर ८) का दिन काठमाडौँमा भएको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको घटनाबारे सनसनीपूर्ण रिपोर्ट सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार प्रहरीको उच्च तहबाटै हजारौँ निहत्था युवामाथि घातक हतियार प्रयोग गर्न आदेश दिइएको दाबी गरिएको छ।
बीबीसीको डकुमेन्ट्री अनुसार ज्यान गुमाउनेमा १७ वर्षीय किशोर श्रीयम चौलागाईं पनि थिए, जो विद्यालय पोसाकमा थिए। भिडियो प्रमाणको विश्लेषणले देखाएको छ कि भीडबाट टाढा जाँदै गरेका श्रीयमलाई टाउकोको पछाडिबाट गोली हानिएको थियो। यस हिंसात्मक घटनामा दर्जनौँ अन्य व्यक्तिहरू गम्भीर घाइते भएका थिए।
प्रतिवेदनले खुलासा गरेको छ कि कर्फ्यु लागू भएको १० मिनेटपछि ‘पिटर १’ कलसाइन प्रयोग गर्ने अधिकारीले ‘आवश्यक बल प्रयोग गर्न’ आदेश दिएको थियो। फिल्डमा खटिएका अधिकृतहरूले बारम्बार अनुमति मागेपछि उच्चस्तरीय आदेश जारी गरिएको प्रतिवेदनमा उल्लेख छ।
‘पिटर १’ कलसाइन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ द्वारा प्रयोग गरिएको विश्वास गरिएको छ। खापुङले आफूले आदेश दिएको कुरा पूर्ण रूपमा अस्वीकार नगरे पनि विस्तृत प्रतिक्रिया दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ।
यस खुलासाले तत्कालीन सरकार र सुरक्षा निकायमाथि मानव अधिकार उल्लंघनको गम्भीर प्रश्न उठाएको छ र देशभर सामाजिक, राजनीतिक बहसलाई तिव्र बनाएको छ।
