खाडीमा नेपालीका लागि दर्ता पोर्टल सक्रिय

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार

काठमाडौं । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन दर्ता पोर्टललाई खाडी क्षेत्रका नेपाली दूतावासहरूले सक्रिय रूपमा कार्यान्वयनमा ल्याएका छन्। आवश्यक प्रचारप्रसार र समन्वय गर्दै सम्बन्धित देशमा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण दर्ता गर्न आग्रह गरिएको छ।

नेपाली दूतावास रियाद ले सूचना जारी गर्दै खाडी क्षेत्रमा रहेका नेपाली नागरिकको नाम दर्ताका लागि पोर्टल प्रयोगमा ल्याइएको जनाएको छ। दूतावासका अनुसार आपत्कालीन अवस्था वा विशेष परिस्थितिमा नेपालीको अवस्था बुझ्न तथा आवश्यक कारबाही समन्वय गर्न तथ्याङ्क संकलन गर्न यो व्यवस्था गरिएको हो।

परराष्ट्र मन्त्रालयद्वारा तयार पारिएको उक्त पोर्टलमार्फत विशेषगरी साउदी अरेबियायमन मा रहेका नेपाली नागरिकको विवरण संकलन गरिनेछ। दूतावासले त्यहाँ कार्यरत श्रमिक तथा अन्य नेपालीलाई आफ्नो व्यक्तिगत विवरण, सम्पर्क ठेगाना र अवस्थासम्बन्धी सूचना अद्यावधिक गर्न अनुरोध गरेको छ।

दूतावासले उपलब्ध गराइएको विवरण गोप्य रूपमा सुरक्षित राखिने जनाउँदै आवश्यक परेमा उद्धार, समन्वय तथा परामर्श सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यसैबीच विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी संघसंस्थाहरूले पनि खाडी क्षेत्रमा रहेका नेपालीको सहयोगका लागि सम्पर्क व्यक्ति तोकेको जानकारी दिएका छन्। ती संघसंस्थाले आपत्कालीन अवस्थामा समन्वय र सूचना आदानप्रदानमा सहजीकरण गर्ने जनाएका छन्।

सरकारले खाडी क्षेत्रमा विकसित परिस्थितिलाई मध्यनजर गर्दै नेपाली नागरिकको सुरक्षा र हितलाई प्राथमिकतामा राखेको जनाएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २०, बुधबार