काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी Huawei ले ८० भन्दा बढी देशका दुर्गम क्षेत्रमा बसोबास गर्ने १७ करोडभन्दा बढी मानिसलाई डिजिटल जडान उपलब्ध गराएको जनाएको छ। यससँगै कम्पनीले International Telecommunication Union को पार्टनर टु कनेक्ट डिजिटल गठबन्धनअन्तर्गत गरेको प्रतिबद्धता पार गरेको छ।
कम्पनीले सन् २०२२ मा उक्त गठबन्धनमा सहभागी हुँदा सन् २०२५ सम्म १२ करोड मानिसलाई दुर्गम क्षेत्रमा डिजिटल पहुँच पुर्याउने प्रतिबद्धता जनाएको थियो। तर लक्ष्यभन्दा अगाडि बढ्दै १७ करोड मानिससम्म जडान विस्तार गरिएको घोषणा गरिएको हो।
यो जानकारी हुवावे सूचना तथा सञ्चार प्रविधि व्यवसाय समूहका प्रमुख कार्यकारी अधिकृत याङ चाओबिनले बार्सिलोनामा आयोजित ‘टेक केयर्स फोरम’ कार्यक्रममा दिएका हुन्। उनले यो उपलब्धिमा दूरसञ्चार साझेदार तथा ग्राहकहरूको सहकार्य निर्णायक रहेको बताए।
कार्यक्रममा सरकार, उद्योग, साझेदार संस्था तथा अन्तर्राष्ट्रिय निकायका करिब ८० प्रतिनिधिको सहभागिता रहेको थियो। सहभागीहरूले कृत्रिम बौद्धिकता युगमा डिजिटल समावेशीकरणको आवश्यकता, व्यावहारिक समाधान तथा बहुपक्षीय सहकार्यबारे गहन छलफल गरेका थिए।
याङले तीव्र गतिमा अघि बढिरहेको कृत्रिम बौद्धिकता विकासका बाबजुद डिजिटल विभाजन अझै कायम रहेको र यसले थप फराकिलो रूप लिन सक्ने चेतावनी दिए। उनका अनुसार समावेशी र दिगो कृत्रिम बौद्धिकता युगका लागि उच्च गतिको डिजिटल सञ्जाल र सुदृढ गणनात्मक पूर्वाधार अपरिहार्य छन्।
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको दूरसञ्चार विकास ब्युरोका निर्देशक कोस्मास जावाजाभाले हुवावेको उपलब्धिको प्रशंसा गर्दै ग्रामीण तथा सेवाबाट वञ्चित समुदायलाई जडान गर्न नवप्रवर्तनशील व्यावसायिक नमुना, समावेशी नीति र स्थानीय क्षमता अभिवृद्धिमा लगानी आवश्यक पर्ने बताए।
हुवावे सार्वजनिक मामिला तथा सञ्चार विभागका अध्यक्ष जेफ वाङका अनुसार डिजिटल समावेशीकरण दुई आधारमा टिकेको छ– समावेशी जडान र डिजिटल सीप सशक्तीकरण। डिजिटल सीप अन्तर घटाउन कम्पनीले सरकार र संस्थासँग सहकार्य गर्दै विद्यार्थी, युवा, ज्येष्ठ नागरिक र महिलाका लागि डिजिटल पहुँच विस्तार, सीप तालिम र विज्ञान–प्रविधि–इन्जिनियरिङ–गणित पाठ्यक्रम विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सन् २०१९ मा सुरु गरिएको ‘स्किल्स अन ह्विल्स’ कार्यक्रममार्फत २१ देशका एक लाख ३० हजारभन्दा बढी व्यक्तिलाई घुम्ती डिजिटल तालिम प्रदान गरिएको जनाइएको छ।
ग्रामीण सञ्जाल नवप्रवर्तनतर्फ कम्पनीले सन् २०१७ देखि ‘रुरल सिरिज’ समाधानलाई निरन्तर स्तरोन्नति गर्दै आएको छ। सन् २०२५ नोभेम्बरमा सार्वजनिक गरिएको ‘रुरलकाउ’ समाधानले करिब १५ सय जनसंख्या भएका गाउँसम्म सञ्जाल विस्तार गर्न सहयोग पुर्याएको छ। यसले स्थानीय अर्थतन्त्र सुदृढ गर्नुका साथै स्वास्थ्य, शिक्षा र वित्तीय सेवामा पहुँच विस्तार गर्न मद्दत पुगेको कम्पनीको दाबी छ।
कार्यक्रमका सहभागीहरूले डिजिटल समावेशीकरण प्रवर्द्धनका लागि सरकार, सेवा प्रदायक, अन्तर्राष्ट्रिय संस्था र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेकोमा सहमति जनाएका छन्। हुवावेले आगामी दिनमा ग्रामीण सञ्जाल प्रविधिमा नवप्रवर्तन, खुला सहकार्य विस्तार र डिजिटल सीप सशक्तीकरणलाई थप तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
