काठमाडौं । पछिल्ला केही वर्षमा नेपालको राजनीतिमा तीव्र परिवर्तन देखिएको छ । यही परिवर्तनको केन्द्रमा छन् काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), जो ¥याप संगीतको मञ्चबाट राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गर्दै अहिले प्रधानमन्त्री बन्ने सम्भावित नेताका रूपमा चर्चाको केन्द्रमा छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै उनले काठमाडौं महानगरपालिकाको मेयर पदमा ऐतिहासिक जित हासिल गरेका थिए ।
लौरो चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका बालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए । उनकी मुख्य प्रतिस्पर्धी कांग्रसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी थिइन् भने एमालेबाट उम्मेद्वार बनेका केसब स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए ।
इन्जिनियरिङ पृष्ठभूमिका बालेन सन् २०१३ मा नेपालकै चर्चित ¥याप ब्याटल लिग र बर्ज मार्फत सार्वजनिक रूपमा परिचित भएका थिए । तर उनको राजनीतिक यात्रा भने योजनाबद्ध रूपमा अघि बढेको बताइन्छ । मेयर पदमा उम्मेद्वारी दिनुभन्दा करिब साढे दुई वर्षअघि देखि उनले तयारी थालेका थिए ।
उनले काठमाडौंको हिमालयन ह्वाइटहाउस कलेजबाट इन्जिनियरिङ अध्ययन गरेका छन् भने भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । यही प्राविधिक पृष्ठभूमिले राजनीतिप्रति निराश बनेका धेरै मतदातालाई आकर्षित गरेको विश्लेषकहरूको भनाइ छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७७ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि बनेको राजनीतिक परिस्थितिमा जेन–जी आन्दोलनका कार्यकर्ताहरूले अन्तरिम सरकारको नेतृत्वका लागि बालेन शाहलाई पहिलो रोजाइका रूपमा अघि सारेका थिए ।
तर बालेनले अन्तरिम प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका थिए । विश्लेषकहरूका अनुसार यो निर्णयले उनलाई छोटो अवधिको सत्ता भन्दा दीर्घकालीन राजनीतिक अवसरतर्फ अघि बढ्न सहयोग गरेको देखिन्छ ।
यसैबीच २०८२ माघ ४ मा बालेन औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । त्यसको भोलिपल्ट उनले जनकपुरबाट आफ्नो चुनावी अभियान सुरु गरेका थिए ।
यस पटक उनले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णय गरेका थिए । यो क्षेत्र लामो समयदेखि ओलीको प्रभाव क्षेत्र मानिन्छ । काठमाडौंबाट करिब ३०० किलोमिटर टाढा रहेको यस क्षेत्रमा बालेनको उम्मेदवारीले राष्ट्रिय राजनीतिमा ठूलो चर्चा र बहस सुरु गराएको छ ।
बालेन सामाजिक सञ्जालमा अत्यन्त सक्रिय छन् । फेसबुकमा उनका करिब ३५ लाखभन्दा बढी फलोअर्स छन् र उनी प्रायः त्यही माध्यमबाट जनतासँग प्रत्यक्ष संवाद गर्छन् । यद्यपि उनको स्पष्ट र कहिलेकाहीँ आक्रामक अभिव्यक्तिका कारण विवाद पनि हुने गरेको छ । उनले विगतमा अमेरिका, भारत र चीनजस्ता शक्तिशाली देश तथा नेपालका प्रमुख राजनीतिक दलहरूबारे कडा टिप्पणी गरेका थिए ।
सन् १९९० मा जन्मिएका बालेन चार दाजुभाइमध्ये कान्छा हुन् । उनका पिता रामनारायण शाह आयुर्वेद चिकित्सक थिए, जसको निधन बालेनको मुख्यधारको राजनीतिमा प्रवेश हुनुअघि भएको थियो ।
हाल बालेन काठमाडौं विश्वविद्यालयमा परम्परागत पूर्वाधारसम्बन्धी विषयमा विद्यावारिधि (पीएचडी) अध्ययन गरिरहेका छन् । यसरी उनी प्राविधिक ज्ञान, शैक्षिक पृष्ठभूमि र लोकप्रिय राजनीतिक शैलीलाई एकसाथ अघि बढाइरहेका छन् ।
विश्लेषकहरूका अनुसार बालेन शाहको उदयले नेपालको परम्परागत राजनीतिक संरचनालाई चुनौती दिएको छ । उनी परिवर्तनका प्रतीक बन्नेछन् वा विवादास्पद नेतृत्वको रूपमा चिनिनेछन् भन्ने कुरा आगामी राजनीतिक घटनाक्रमले तय गर्नेछ । तर यति निश्चित छ कि नेपालको राजनीतिमा पुरानो पुस्ताको प्रभुत्वमाथि अहिले गम्भीर चुनौती देखिएको समाचार एएनआइले लेखेको छ ।