काठमाडौं । यातायात तथा ट्राफिक व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि आवाज उठाँउदै आएका यातायात विज्ञ आशिष गजुरेल अब संघीय संसदमा प्रवेश गर्नु भएको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिन्धुली-२ निर्वाचन क्षेत्रका उम्मेदवार बन्नुभएको गजुरेलले प्रतिस्पर्धीहरूलाई पछि पार्दै विजय हासिल गर्नु भएको हो ।
यस निर्वाचनमा उनले नेकपाका प्रभावशाली उम्मेदवार लेखनाथ दाहालसँग कडा प्रतिस्पर्धा गर्दै अन्तमा भारि मतान्तरले बाजी मार्नुभयो । उहाँले १७ हजार ९४० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी दाहालले १४ हजार ७८० मत प्राप्त गर्नु भएको थियो ।
निर्वाचन परिणामअनुसार नेकपा एमालेका उम्मेदवार मनोज जंग थापाले ११ हजार ६०६ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सुशिला थिङले ६ हजार ७६० मत पाउनु भएको छ । यसरी चार प्रमुख उम्मेदवारबीच भएको प्रतिस्पर्धामा गजुरेलले तीन हजारभन्दा बढी मतको अन्तरले जित निकाल्न सफल हुनु भएको छ ।
इन्जिनियरिङ पृष्ठभूमिका गजुरेल लामो समयदेखि नेपालको यातायात क्षेत्र सुधारका विषयमा आवाज उठाउँदै आएका व्यक्तिका रूपमा चिनिनुहुन्छ । नेपालमा बढ्दो सडक दुर्घटना, अव्यवस्थित यातायात प्रणाली तथा कमजोर ट्राफिक व्यवस्थापनका कारण हुने मानवीय क्षतिको विषयमा उहाँले पटक–पटक चिन्ता व्यक्त गर्दै आउनु भएको छ । यससँगै उहाँले विभिन्न लेख, अध्ययन र सार्वजनिक बहसमार्फत् सुधारका सम्भावित उपायहरू पनि प्रस्तुत गर्दै आउनु भएको थियो ।
शैक्षिक रूपमा पनि गजुरेल यातायात प्रणालीका विशेषज्ञ मानिनुहुन्छ । उहाँले जर्मनीको म्युनिखस्थित टेक्निकल युनिभर्सिटीबाट ट्रान्सपोर्टेशन सिस्टम विषयमा स्नातकोत्तर अध्ययन गर्नुभएको छ । यही अध्ययन र अनुभवका आधारमा उहाँले नेपालको सडक तथा यातायात व्यवस्थापन सुधारका लागि विभिन्न सुझावहरू सार्वजनिक गर्दै आउनु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गजुरेललाई यातायात र आपूर्ति व्यवस्थापनको क्षेत्रमा दक्ष तथा प्राविधिक ज्ञान भएका व्यक्तिका रूपमा लिएको छ । पार्टीभित्र उहाँलाई सडक सुरक्षा विज्ञ र यातायात क्षेत्रमा देखिएको बेथिति विरुद्ध आवाज उठाउने प्रखर ब्यक्तिको रूपमा चिनिनुहुन्छ । पार्टीका अनुसार अब संसदमा पुगेपछि गजुरेलले विशेष गरी सडक सुरक्षा, आधुनिक यातायात प्रणाली, सार्वजनिक यातायात सुधार तथा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रभावकारी व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यातायात क्षेत्रका प्राविधिक विज्ञको रूपमा पहिचान बनाएका गजुरेल अब सांसदको रूपमा नीति निर्माण तहमा पुगेसँगै उहाँले उठाउँदै आएका विषयहरू व्यवहारिक रूपमा कार्यान्वयन हुने अपेक्षा पनि बढेको छ । सडक दुर्घटना न्यूनीकरण, व्यवस्थित ट्राफिक प्रणाली र आधुनिक यातायात संरचनाको विकासका लागि उहाँको अनुभव र ज्ञान संसदमा उपयोगी हुने विश्वास गरिएको छ । यसरी लामो समयदेखि सडक सुरक्षा र यातायात सुधारका विषयमा सक्रिय रहेका गजुरेल अब सांसदको जिम्मेवारीसहित नीति निर्माण प्रक्रियामा सहभागी हुने देखिएको छ । यसले नेपालको यातायात क्षेत्र सुधारका लागि नयाँ आशा जगाएको धेरैले अपेक्षा गरेका छन् ।
