काठमाडाैं । सामसङ नेपालले बहुप्रतीक्षित ग्यालेक्सी एस२६ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक ग्यालेक्सी एआई अनुभवद्वारा सञ्चालित यस सिरिजलाई प्रयोगकर्ताहरूका लागि अझ सहज, स्मार्ट र अनुकूल हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।
ग्यालेक्सी एस२६ सिरिज अन्तर्गत ग्यालेक्सी एस२६ अल्ट्रा, ग्यालेक्सी एस२६+, र ग्यालेक्सी एस२६ मोडेलहरू सार्वजनिक गरिएको हो। यी मोडेलहरू नेपालमा मार्च ८ देखि मार्च १८, २०२६ (वा स्टक उपलब्ध नभएसम्म) सम्म प्रि-अर्डरका लागि उपलब्ध हुने सामसङ नेपालले जनाएको छ।
कम्पनीका अनुसार यो सिरिज प्रयोगकर्ताहरूले स्मार्टफोनमा दैनिक गर्ने कार्यहरूलाई अझ सहज बनाउन केन्द्रित गरिएको छ। तालिका व्यवस्थापनदेखि कन्टेन्ट सिर्जनासम्मका कामलाई सरल बनाउँदै प्रयोगकर्तालाई प्राविधिक जटिलताभन्दा परिणाममा केन्द्रित हुन सहयोग गर्ने उद्देश्यले यो सिरिज तयार गरिएको बताइएको छ।
सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स प्रनय रत्न स्थापितले ग्यालेक्सी एस२६ सिरिज प्रयोगकर्ताको जीवनशैली र कार्यशैलीअनुसार अनुकूल हुने गरी इन्जिनियर गरिएको बताए। उनका अनुसार एजेन्टिक एआई प्रविधिले दैनिक कामहरू सहज रूपमा व्यवस्थापन गर्दै प्रयोगकर्तालाई परिवारसँग समय बिताउने, उत्पादकत्व बढाउने र दैनिक क्षणहरूको आनन्द लिन मद्दत गर्छ। साथै कम्पनीले २४ महिनासम्मको इएमआई सुविधा सुरु गर्दै फ्ल्यागशिप प्रविधिलाई अझ सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको उनले बताए।
मुख्य विशेषताहरू
प्राइभेसी र पर्फरमेन्स
ग्यालेक्सी एस२६ अल्ट्रामा उद्योगमै पहिलो पटक इन-बिल्ट प्राइभेसी डिस्प्ले उपलब्ध गरिएको छ, जसले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न मद्दत गर्छ। यसमा अनुकूलित चिपसेट र सुधारिएको थर्मल व्यवस्थापन प्रणाली समावेश गरिएको छ, जसले ७.९ मिलिमिटरको स्लिम डिजाइनमै छिटो र शक्तिशाली एआई प्रदर्शन प्रदान गर्छ।
एनहान्स्ड क्यामेरा क्षमता
ग्यालेक्सी एस२६ अल्ट्रामा फराकिलो अपर्चर सहितको उन्नत क्यामेरा प्रणाली राखिएको छ, जसले कम उज्यालोमा पनि उत्कृष्ट फोटो खिच्न मद्दत गर्छ। नाइटग्राफी भिडियो प्रविधिले कम प्रकाशमा पनि स्पष्ट भिडियो खिच्न सहयोग पुर्याउँछ भने सुपर स्ट्याडी प्रविधिले भिडियो स्थिर बनाउँछ। एआई आईएसपी प्रविधिले सेल्फी क्यामेरालाई पनि सुधार गर्दै मिश्रित प्रकाशमा प्राकृतिक छाला रंग र सूक्ष्म विवरण स्पष्ट देखाउने बनाएको छ। साथै, उच्च गुणस्तरको भिडियोलाई प्रभावकारी रूपमा कम्प्रेस गर्न सक्ने व्यावसायिक भिडियो मानक समर्थन गर्ने यो पहिलो ग्यालेक्सी डिभाइस रहेको कम्पनीले जनाएको छ।
एआई–संचालित सम्पादन उपकरण
अपग्रेड गरिएको फोटो असिस्ट सुविधाले प्रयोगकर्तालाई फोटोमा चाहिएको परिवर्तन वर्णन गर्न, हराएका भाग पुनःस्थापित गर्न तथा फोटोमा रहेको पहिरन परिवर्तन गर्नसमेत अनुमति दिन्छ। क्रिएटिभ स्टुडियोले दृश्य सामग्री सिर्जना र अनुकूलनका लागि एकीकृत प्लेटफर्म उपलब्ध गराउँछ। सुरक्षाका लागि प्राइभेट एल्बम, नक्स म्याट्रिक्स सुरक्षा प्रणाली तथा सात पुस्तासम्मको अपरेटिङ सिस्टम अपडेट र सात वर्षसम्मका सुरक्षा अपडेटहरू समावेश गरिएको छ।
स्मार्ट सहायता सुविधा
नाउ नज (Now Nudge) ले समयमै सान्दर्भिक सुझावहरू प्रदान गर्दै प्रयोगकर्तालाई आफ्नो काममा अवरोधबिना केन्द्रित रहन मद्दत गर्छ। नाउ ब्रिफ (Now Brief) ले प्रयोगकर्ताको सन्दर्भअनुसार प्लेलिस्ट, रिमाइन्डर जस्ता सक्रिय सुझावहरू दिन्छ। साथै, गुगलसँगको सर्कल टु सर्च सुविधालाई पनि अपग्रेड गरी एउटै तस्वीरभित्र रहेका धेरै वस्तुहरू एकैपटक पहिचान गर्ने क्षमता थपिएको छ।
मूल्य र उपलब्धता
ग्यालेक्सी एस२६ सिरिज कोबाल्ट भायोलेट र कालो रंगमा उपलब्ध हुनेछ।
ग्यालेक्सी एस२६ अल्ट्रा (१६ जिबी / १ टिबी) को मूल्य २ लाख ९३ हजार ९९९ रुपैयाँ तोकिएको छ। ग्यालेक्सी एस२६ अल्ट्रा (१२ जिबी / ५१२ जिबी) को मूल्य २ लाख ४२ हजार ९९९ रुपैयाँ रहेको छ भने (१२ जिबी / २५६ जिबी) को मूल्य २ लाख १२ हजार ९९९ रुपैयाँ तोकिएको छ।
ग्यालेक्सी एस२६+ (१२ जिबी / २५६ जिबी) को मूल्य १ लाख ८२ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी एस२६ (१२ जिबी / २५६ जिबी) को मूल्य १ लाख ३३ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ।
प्रि-अर्डर अफर
ग्यालेक्सी एस२६ अल्ट्रा (१ टिबी वा ५१२ जिबी) मा १५ हजार रुपैयाँ बराबरको स्टोरेज अपग्रेड उपलब्ध हुनेछ भने प्रति महिना ३ हजार ६ सय ३६ रुपैयाँबाट इएमआई सुविधा लिन सकिनेछ।
२४ महिनासम्मको इएमआई अन्तर्गत ग्यालेक्सी एस२६ अल्ट्रा (२५६ जिबी) मा १० हजार रुपैयाँ बराबरको स्टोरेज अपग्रेड तथा ग्यालेक्सी एस२६ र एस२६+ (२५६ जिबी) मा ५ हजार रुपैयाँ बराबरको स्टोरेज अपग्रेड उपलब्ध हुनेछ।
सामसङले नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रमा इएमआई सुविधा सुरु गर्ने अग्रणी ब्रान्डको रूपमा अहिले स्मार्टफोन, टेलिभिजन र गृहउपकरणहरूमा १२ महिनासँगै २४ महिनासम्मको इएमआई विकल्प उपलब्ध गराएको जनाएको छ।
यो सुविधा हुँलास फिन सर्भिस हायर पर्चेजद्वारा सञ्चालित सामसम इन्टा फाइनान्स सेवा मार्फत उपलब्ध हुने बताइएको छ। यसले ग्राहकलाई मासिक किस्ता रकम घटाउँदै आर्थिक दबाब बिना नयाँ प्रविधि अपनाउन सहज बनाउने कम्पनीको दाबी छ। यसका लागि नागरिकता प्रमाणपत्र मात्र आवश्यक पर्ने बताइएको छ।
ग्राहकहरूले सब्को फोन र आर्कोस्टोर जस्ता ट्रेड–इन साझेदारहरू मार्फत पुराना उपकरण साटेर पनि ग्यालेक्सी एस२६ सिरिज खरिद गर्न सक्नेछन्। थप जानकारीका लागि नजिकको आधिकारिक सामसङ रिटेल स्टोरमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।
