कास्की । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की जिल्लामा चार हजार ६९८ मत बदर भएको छ। प्रदेश निर्वाचन कार्यालय पोखरा का सूचना अधिकारी रुद्र न्यौपाने का अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रमा कुल एक लाख ९१ हजार ४२५ मत खसेकामा एक लाख ८६ हजार ७२७ मत सदर भएको छ। बदर मतको प्रतिशत दुई दशमलव ४५ रहेको उनले जानकारी दिए।
कास्की जिल्ला को क्षेत्र नम्बर १ मा ७१ हजार ८०६ मत खसेको थियो। त्यसमध्ये ६९ हजार ९५४ मत सदर हुँदा एक हजार ८५२ मत बदर भएको छ।
त्यस्तै क्षेत्र नम्बर २ मा ५३ हजार ३९५ मत खसेकामा ५२ हजार १८७ मत सदर भएको छ भने एक हजार २०८ मत बदर भएको जानकारी दिइएको छ।
यसैगरी क्षेत्र नम्बर ३ मा ६६ हजार २२४ मत खसेकामा ६४ हजार ५८६ मत सदर हुँदा एक हजार ६३८ मत बदर भएको सूचना अधिकारी न्यौपानेले बताए।
निर्वाचन कार्यालयले मत बदर हुन नदिन फागुन ३ गतेदेखि १७ गतेसम्म जिल्लाका ७२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो।
यसअघि विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने कास्कीमा करिब पाँच प्रतिशत मत बदर भएको थियो। उक्त निर्वाचनमा एक लाख ७८ हजार ८०६ मत खसेकामा एक लाख ७० हजार ३४४ मत सदर भएको थियो भने आठ हजार ४६४ मत बदर भएको थियो।
सूचना अधिकारी न्यौपानेका अनुसार मतपत्रमा एक वा सोभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाउनु, सही स्थानमा छाप नलगाउनु, मतपत्र गलत तरिकाले पट्याउनु तथा चुनाव चिह्नभन्दा बाहिर छाप लगाउनुजस्ता कारणले मत बदर हुने गरेको छ।
