काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदूषित शहर-तस्विरहरु

काठमाडौं उपत्यकाको वातावरण पछिल्ला दुई–तीन दिनयता धुम्म छ । उपत्यकाको आकाश धमिलो छ भने घाम राम्रोसँग लाग्न सकेको छैन ।

बेलाबेला केही ठाउँमा सिमसिमे वर्षा पनि हुन्छ, अन्य ठाउँमा पानी पर्लापर्ला जस्तो पनि देखिन्छ । तर, ठुलो वर्षा भने हुन सकेको छैन ।

यसले जनजीवनलाई आंशिक प्रभाव पारिरहेको छ । दृश्य क्षमता घटेका कारण यातायात सञ्चालन र हवाई उडानमा समेत सामान्य प्रभाव परेको छ । हावामा धुलोका कण र धुवाँको मात्रा बढेकाले सर्वसाधारणले आँखा पोलेको र श्वासप्रश्वासमा असहज महसुस गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको यस्तो वातावरण हुनुका पछाडि प्रदूषण र मौसम गरी दुई कारण छन् ।

मौसमविद् रोजन लामिछानेले उपत्यकामा प्रदूषणको मात्रा अत्यधिक बढेकाले वायु गुणस्तर सूचकांक जोखिमपूर्ण स्तरमा पुगेको छ । उनले लामो समयदेखि वर्षा नहुनु, देशका विभिन्न भागको डढेलो, सवारीसाधनलगायतले उत्पन्न गरेको धुलोधुवाँ उपत्यकामा प्रवेश गरेर अड्किएर बस्नुले प्रदूषणको मात्रा बढेको जानकारी दिए ।

‘यहाँ प्रदूषण अड्किएर बसिरहेको अवस्था छ । त्यसलाई हटाउन कि प्रशस्त पानी पर्नुपर्छ, कि ठुलो हावा लागेर उडाएर लैजानुपर्छ,’ उनले भने, ‘हालसम्म यहाँ न पर्याप्त पानी परेको छ, न ठुलो गतिको हावा नै लागेको छ ।’

यस्तै विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्यान्डको एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का अनुसार काठमाडौं अहिलेको विश्वकै बढी प्रदूषित सहरको पहिलो नम्बरमा पनि छ । जसले यहाँको वातावरण अति जोखिमपूर्ण तहमा छ ।

यहाँको एक्यूआई विन्दु १७९ सम्म पुगेको छ । दोस्रो स्थानमा भारतको कोलकाता १७३ एक्युआईसहित दोस्रो र पाकिस्तानको लाहोर १६६ एक्युआईसहित तेस्रो स्थानमा छ ।

यस्तै पछिल्ला दिनमा मौसम पनि थोरै सक्रिय भएर बसेकाले आकाश खुल्न नसकेको मौसमविद् लामिछानेले बताए । उनले भने, ‘तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली सक्रिय हुँदा नेपालको कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा पानी पर्ने जस्तो छ । माथिल्लो उच्च तापीय प्रणालीको आंशिक प्रभाव छ । जसले बादल बनेर बसेको छ ।’

तर, मौसम अपेक्षाकृत सक्रिय नभएकाले बादल मात्रै जम्मा भएर बसेकाले उपत्यकाको आकाश धुम्म भएर बसेको उनी बताउँछन् ।

मौसम खुल्न पनि पानी पर्नुपर्ने अथवा ठुलो हावा नै चल्नुपर्ने लामिछानेले बताए । ‘काठमाडौं उपत्यमा यसअघि अहिलेको समयमा चल्नुपर्ने जति हावा पनि चलिरहेको छैन,’ उनले भने ।

यो अवस्था अझै केही दिन कायम रहने जल तथा मौसम विभागले जनाएको छ ।

यसैबीच वातावरण विभागले सोमबार विज्ञप्ति जारी गरेर काठमाडौं, पोखरालगायत ठुला सहरसहित तराईका अधिकांश स्थानमा प्रदूषण बढेको पाइएको जनाएको छ ।

त्यसैले यो प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरूलाई असर पार्ने भएकाले विशेष सावधानी अपनाउन सुझाएको छ ।

यस्तै घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रूपमा गुणस्तरीय मास्कको प्रयोग गर्न स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् ।

 

 

 

अनलाइनखबरबाट साभार