काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको लुभूमा सञ्चालन हुँदै आएको आफ्नो शाखा कार्यालयलाई स्थानान्तरण गरी महालक्ष्मी नगरपालिकामा नयाँ स्थानबाट सेवा सञ्चालन सुरु गरेको जनाएको छ। कम्पनीका अनुसार शाखा स्थानान्तरण भदौ ७ गतेदेखि लागू भएको हो।
यसअघि महालक्ष्मी नगरपालिका–७ स्थित लुभूबाट सेवा दिँदै आएको शाखा अहिले महालक्ष्मी नगरपालिका–६ मा स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ। सेवा विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित कम्पनीले शाखालाई नयाँ र सहज पहुँच भएको स्थानमा सारिएको बताएको छ।
कम्पनीका अनुसार शाखा स्थानान्तरण भए पनि ग्राहकका बीमा पोलिसी, बीमा सुविधा, प्रिमियम भुक्तानी दायित्व तथा सम्झौतासम्बन्धी कुनै पनि सर्तमा परिवर्तन नहुने स्पष्ट पारिएको छ। लुभू कार्यालयबाट उपलब्ध हुँदै आएका सबै सेवा नयाँ कार्यालयबाट पनि निरन्तर उपलब्ध रहनेछन्।
नयाँ शाखाबाट ग्राहकहरूले जीवन बीमा सम्बन्धी नयाँ पोलिसी दर्ता, प्रिमियम भुक्तानी, पोलिसी नवीकरण, दाबी दर्ता तथा परामर्श, साथै अन्य आवश्यक ग्राहक सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
सेवा लिन सहज बनाउने उद्देश्यले कम्पनीले नयाँ शाखाका लागि सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ। ग्राहकहरूले प्रिमियम भुक्तानी, पोलिसीसम्बन्धी जानकारी वा दाबी प्रक्रियाबारे सोधपुछका लागि ९८२९०१०५६० र ९८२९०१९१६२ नम्बरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले शाखा स्थानान्तरणलाई सेवा सञ्जाल विस्तार गर्ने दीर्घकालीन योजनाको हिस्सा रहेको जनाएको छ। विशेषगरी बागमती प्रदेशभित्र बीमा सेवाको पहुँच विस्तार गर्न र ग्राहकलाई अझ प्रभावकारी सेवा दिन यस्तो कदम चालिएको बताइएको छ।
नेपालको बीमा क्षेत्रमा सक्रिय संस्थामध्ये एक मानिने सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न जीवन बीमा योजनामार्फत परिवारको दीर्घकालीन आर्थिक सुरक्षामा योगदान दिँदै आएको छ। कम्पनीले शाखा सञ्जाल विस्तार तथा सेवा पूर्वाधार सुदृढ गर्दै ग्राहकलाई गुणस्तरीय र सहज बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीले यसअघि लुभू शाखाबाट सेवा लिइरहेका ग्राहक, अभिकर्ता तथा सरोकारवालालाई अब महालक्ष्मी नगरपालिका–६ स्थित नयाँ कार्यालयबाट सेवा लिन अनुरोध गरेको छ। साथै कम्पनीले यस स्थानान्तरणका क्रममा ग्राहकहरूले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि पारदर्शी र विश्वसनीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
