इन्डिगोमा नेतृत्व परिवर्तन, राहुल भाटियाले सम्हाले कार्यकारी जिम्मेवारी

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार

काठमाडौँ । भारतको सबैभन्दा ठूलो विमानसेवा कम्पनी इन्डिगोका मुख्य कार्यकारी अधिकृत पिटर एल्बर्सले पदबाट राजीनामा दिएका छन्। कम्पनीले उनको बहिर्गमनलाई तत्काल प्रभावबाट लागू हुने गरी स्वीकृत गरेको जनाएको छ।

कम्पनीका अनुसार एल्बर्सले ‘व्यक्तिगत कारण’ उल्लेख गर्दै पद त्यागेका हुन्। तर, राजीनामाको विस्तृत कारण भने सार्वजनिक गरिएको छैन। नयाँ कार्यकारी प्रमुख नियुक्त नभएसम्मका लागि कम्पनीका सह–संस्थापक राहुल भाटियाले कार्यकारी जिम्मेवारी सम्हाल्ने कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

गत मंसिरको उत्तरार्धमा पाइलटहरूको कार्यतालिका सम्बन्धी नयाँ नियम लागू भएपछि इन्डिगोका हजारौँ उडानहरू रद्द भएका थिए। त्यसबेला भारतभरका विभिन्न विमानस्थलमा हजारौँ यात्रु अलपत्र परेका थिए। उडान रद्द भएपछि कम्पनीको व्यवस्थापन र नेतृत्वमाथि व्यापक आलोचना समेत भएको थियो।

भारतको आन्तरिक उड्डयन बजारको झण्डै दुई तिहाइ हिस्सा ओगट्ने इन्डिगोको सञ्चालनमा आउने अवरोधले भारतीय हवाई क्षेत्रमा ठूलो प्रभाव पार्ने गर्छ। भारतको उड्डयन क्षेत्र विश्वमै तीव्र गतिमा विस्तार भइरहेको बजारमध्ये एक मानिन्छ।

झण्डै ४४० विमान रहेको इन्डिगोले भारतभित्रका विभिन्न सहरका साथै पश्चिम एसियाका खाडी मुलुक, युरोप र एसियाका केही अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित सेवा दिँदै आएको छ। भारतीय उड्डयन क्षेत्रको विकासमा कम्पनीको महत्वपूर्ण भूमिका रहेको मानिन्छ।

गत मंसिरमा मात्र इन्डिगोले करिब चार हजार पाँच सय उडान रद्द गरेको थियो, जुन कम्पनीको करिब दुई दशक लामो इतिहासमै सबैभन्दा ठूलो अवरोध मानिएको छ। यस घटनाले यात्रुहरूलाई ठूलो असुविधा भएको थियो।

पाइलटहरूको थकान कम गर्नका लागि उडान र आरामसम्बन्धी नयाँ नियम लागू भएपछि आवश्यक पाइलट सङ्ख्याको सही आँकलन गर्न नसक्दा समस्या उत्पन्न भएको कम्पनीले पछि स्वीकार गरेको थियो। पाइलट अभावका कारण धेरै विमान कानुनी रूपमा उडाउन नमिल्ने अवस्था सिर्जना भएपछि उडानहरू रद्द गर्नुपरेको बताइएको थियो।

यस घटनापछि भारतको उड्डयन नियामक निकायले कम्पनीलाई करिब २४ लाख ५० हजार अमेरिकी डलर जरिवाना गरेको थियो। साथै व्यवस्थापनको कमजोरीलाई लिएर एल्बर्ससहित कम्पनीका वरिष्ठ अधिकारीहरूको आलोचना पनि भएको थियो।

सह–संस्थापक भाटियाले कर्मचारीहरूलाई पठाएको आन्तरिक सन्देशमा गत मंसिरमा भएको अवस्था कहिल्यै दोहोरिन नहुने बताएका छन्। उनले संकटको समयमा जिम्मेवारीपूर्वक काम गर्ने सबै कर्मचारीलाई धन्यवाद पनि दिएका छन्।

एल्बर्स सन् २०२२ मा लामो उड्डयन अनुभवसहित इन्डिगोमा आबद्ध भएका थिए। उनको कार्यकालमा कम्पनीले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने योजना अन्तर्गत एयरबससँग पाँच सय साना तथा केही ठूला विमान खरिद गर्ने ऐतिहासिक सम्झौता समेत गरेको थियो।

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार