काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा मुलुकको चालु खाता उल्लेख्य रूपमा बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनदेखि माघ मसान्तसम्म चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको देखिएको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ३७ करोड डलर बचतमा रहेको चालु खाता चालु वर्षको समीक्षा अवधिमा ३ अर्ब ४७ करोड डलरले बचतमा पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म खुद पुँजीगत ट्रान्सफर ११ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो।
यसैगरी समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी पनि बढेको देखिएको छ। सात महिनामा १० अर्ब २२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ७ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति पनि उल्लेखनीय रूपमा बचतमा रहेको छ। सात महिनामा शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोड रुपैयाँले बचतमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो।
अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ११ करोड डलर बचतमा रहेको शोधनान्तर स्थिति चालु वर्षको समीक्षा अवधिमा ४ अर्ब ३ करोड डलरले बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ।
