काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो सात महिनामा मोबाइल बैंकिङमार्फत हुने कारोबार उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार साउनदेखि माघ मसान्तसम्म मोबाइल बैंकिङमार्फत ५ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
राष्ट्र बैंकका अनुसार उक्त अवधिमा मोबाइल बैंकिङ अन्तर्गत कुल ६ करोड ७३ लाख पटक कारोबार भएको छ। डिजिटल भुक्तानी प्रणालीप्रति बढ्दो आकर्षणका कारण मोबाइल बैंकिङ प्रयोग गर्ने सेवाग्राहीको संख्या निरन्तर बढ्दै गएको देखिएको छ।
यसैगरी २०८२ माघ महिनामा मात्र डेबिट कार्ड प्रयोगकर्ताहरूले ९८ लाख कारोबारमार्फत ७५ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार गरेका छन्।
त्यस्तै क्यु–आर कोडमार्फत हुने डिजिटल भुक्तानी पनि उल्लेख्य रूपमा बढेको छ। राष्ट्र बैंकका अनुसार क्यु–आर कोड भुक्तानी अन्तर्गत ४ करोड ६२ लाख कारोबारमार्फत १ खर्ब २५ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
