विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो सात महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढेर ३३ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि माघ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्ष २०८२ असार मसान्तमा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो। सो तुलनामा हालको सञ्चिति २३.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा हेर्दा पनि विदेशी मुद्रा सञ्चिति बढेको छ। गत असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड डलर पुगेको छ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको हिस्सा उल्लेख्य रहेको छ। २०८२ असार मसान्तमा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेको सञ्चिति २०८२ माघ मसान्तसम्म २१.२ प्रतिशतले बढेर २९ खर्ब २६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै नेपाल राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति पनि बढेको छ। असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति माघ मसान्तसम्म ४२.८ प्रतिशतले वृद्धि भई ३ खर्ब ७५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.५ प्रतिशत रहेको छ।

सात महिनासम्मको आयातको आधारमा हेर्दा बैंकिङ क्षेत्रमा रहेको विदेशी मुद्रा सञ्चिति २१.३ महिनाको वस्तु आयात तथा १८.० महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ।

त्यसैगरी २०८२ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५४.१ प्रतिशत रहेको छ। कुल आयातसँगको अनुपात १५०.२ प्रतिशत तथा विस्तृत मुद्राप्रदायसँगको अनुपात ३९.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

गत आर्थिक वर्ष २०८२ असार मसान्तमा भने यी अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए। विदेशी मुद्रा सञ्चितिमा भएको वृद्धिले मुलुकको बाह्य क्षेत्रलाई थप सुदृढ बनाएको राष्ट्र बैंकले जनाएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार