नाडा निर्वाचनमा कानुनी बाधा हट्यो, नव–निर्वाचित कार्यसमितिको शपथग्रहण तयारी

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार

काठमाडौं । नाडा अटोमोबाइल एसोशियसन अफ नेपालको हालै सम्पन्न निर्वाचनसम्बन्धी मुद्दामा दायर गरिएको रिट निवेदन पाटन उच्च अदालतले खारेज गरेको छ। यस निर्णयसँगै संस्थाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहणमा रहेका सम्पूर्ण कानुनी अवरोध हटेको छ।

अदालतमा विचाराधिन अवस्थामा संस्थाले न्यायालय र विधिको शासनप्रति आफ्नो उच्च सम्मान व्यक्त गर्दै नव–निर्वाचित कार्यसमितिको शपथग्रहण अस्थायी रूपमा स्थगित गरेको थियो। तर आज अदालतको निर्णयले यस विषयमा स्पष्टता प्रदान गरेको छ र शपथग्रहण कार्यक्रम अघि बढाउन मार्ग प्रशस्त गरेको छ।

नाडाले जनाएको छ कि नव–निर्वाचित कार्यसमितिको शपथग्रहण संस्थाको विधान, विधि र स्थापित प्रक्रियाअनुसार निकट भविष्यमा सम्पन्न गरिनेछ।

संस्थाले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै, यसले आगामी दिनमा नाडालाई थप स्थिरता र एकताका साथ अघि बढ्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ। साथै नाडाले सदस्य, सरोकारवाला निकाय र साझेदार संस्थासँग सहकार्य गर्दै नेपालको अटोमोबाइल उद्योगको दिगो विकास, नीतिगत संवाद र उद्योगमैत्री वातावरण सुदृढीकरणमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ।

नाडा अटोमोबाइल एसोशियसन अफ नेपाल अटोमोबाइल क्षेत्रको प्रतिनिधित्व गर्ने अग्रणी छाता संस्था हो। करिब पाँच दशकदेखि यसले उद्योगको विकास, प्रवर्द्धन, नीतिगत सहकार्य र सरोकारवालाबीच समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार