समानुपातिकतर्फ सिट बाँडफाँड: सेन्ट लग विधिद्वारा पारदर्शी प्रक्रिया

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम करिब सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ १६५ सिटको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फ ११० सिटको बाँडफाँड कसरी हुने भन्ने विषयमा नागरिकमा चासो बढेको छ।

निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको सदर मतलाई सिटमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय अभ्यास ‘सेन्ट लग’ विधि प्रयोग गर्ने जनाएको छ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी दुईवटा निर्वाचन प्रणाली प्रयोग गरिएको छ। समानुपातिक प्रणाली अन्तर्गत देशलाई एउटै निर्वाचन क्षेत्र मान्ने र दलहरूले बन्द सूचीमार्फत उम्मेदवारी दिने व्यवस्था छ। दलले प्राप्त गरेको कुल सदर मतको आधारमा समानुपातिक सिट संख्या निर्धारण गरिन्छ।

न्युनतम ३ प्रतिशत मत अनिवार्य

समानुपातिकतर्फ सिट प्राप्त गर्न राजनीतिक दलले कुल सदर मतको कम्तिमा ३ प्रतिशत हासिल गर्नुपर्छ। ३ प्रतिशत मत नपुगेका दलहरू सिट बाँडफाँड प्रक्रियामा सहभागी हुन पाउँदैनन्।

सेन्ट लग विधिद्वारा सिट वितरण

घिमिरेका अनुसार, दलले पाएको मतलाई विजोर अंक (१, ३, ५, ७,…) ले निरन्तर भाग गरेर भागफल ठूलोदेखि सानो क्रममा राखिन्छ। जम्मा ११० सिट भएकाले सबैभन्दा ठूला ११० भागफल छानिन्छन्। तिनको आधारमा दलले सिट प्राप्त गर्छन्। बढी मत ल्याउने दलको भागमा धेरै ठूला भागफल पर्ने भएकाले उनीहरूले धेरै सिट पाउँछन्, कम मत ल्याउने दलले कम सिट पाउँछन्।

सिट पाइसकेपछि प्रक्रिया

सिट संख्या निश्चित भएपछि दलहरूले समावेशी सिद्धान्त (आदिवासी जनजाति, मधेसी, खस आर्य, थारु, दलित आदि) अनुसार ३ दिनभित्र आयोगमा नाम सिफारिस गर्नुपर्छ। आयोगले सूचीको क्रम र समावेशीता छानबिन गरी कानुनी रुपमा सही भए मात्र अन्तिम नाम प्रकाशित र प्रमाणपत्र वितरण गरिने घिमिरेले बताए।

यसरी सेन्ट लग विधि र समावेशी प्रक्रिया मार्फत समानुपातिक सिट बाँडफाँड पारदर्शी र कानूनी रुपमा सुनिश्चित गरिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन २८, बिहीबार