काठमाडौँ । विश्वमै पहिलो पटक एटीआर–७२ विमानले आफ्नो निर्धारित ७२ हजार उडान चक्र (साइकल) पूरा गरी व्यावसायिक सेवाबाट ऐतिहासिक अवकाश प्राप्त गरेको छ। करिब १६ वर्षको सेवा अवधिमा यस विमानले झण्डै २५ लाख यात्रुलाई गन्तव्यमा पुर्याएको थियो।
सन् २०१० को जुलाईदेखि नेपाली आकाशमा उडान भर्ने यो ७२ सिट क्षमताको विमानले मार्च ९, २०२६ मा भैरहवाबाट काठमाडौंका लागि गरिएको उडानलाई आफ्नो अन्तिम व्यावसायिक यात्रा बनाएको थियो। विमानको निर्धारित उडान र अवतरणको संख्या ‘साइकल’ अनुसार यसले तोकिएको ७२ हजार साइकल पूर्ण गरेको हो, जसले यसलाई विश्वकै पहिलो एटीआर–७२ विमान बनाएको छ।
विमानले नेपाली पर्यटन र आन्तरिक कनेक्टिभिटीमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्याएको छ। यसको सुरक्षित सञ्चालनमा उचित मर्मतसम्भार, प्राविधिक दक्षता र उच्च उडान मानकको महत्वपूर्ण भूमिका रहेको विमान उत्पादक कम्पनीका उच्च अधिकारीहरूले बताएका छन्।
प्रविधिक रूपमा अत्यन्तै सुरक्षित मानिएको यस विमानलाई दक्ष जनशक्ति र उपयुक्त वातावरणका कारण अन्तिम उडानसम्म चुस्त राख्न सम्भव भएको थियो। उड्डयन क्षेत्रका नियमनकारी निकायले यसलाई उच्च सुरक्षा प्रतिबद्धताको उदाहरण मानेका छन्।
यो ऐतिहासिक विदाईसँगै निजी वायुसेवा कम्पनीले आफ्नो बजार विश्वसनीयता र सेवा विस्तारमा नयाँ उचाइ थपेको छ। कम्पनीले पुराना विमानलाई प्रक्रियागत रूपमा विस्थापित गर्दै नयाँ, सुरक्षित र आधुनिक उडानको सुनिश्चिततालाई निरन्तरता दिने बताएको छ।
यसअघि सानो क्षमताको एटीआर–४२ विमानलाई पनि पूर्ण आयु उपयोग गरी बिदा गरिएको थियो। एटीआर–७२ को यस सफल सेवाले नेपाली आकाशमा सुरक्षित र विश्वसनीय हवाई यात्राको नमूना प्रस्तुत गरेको छ।
