जन उत्थान लघुवित्तको १५औँ साधारण सभा सम्पन्न

बुटवल । जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १५औँ वार्षिक साधारण सभा बुटवलस्थित होटल न्यू ईरामा सम्पन्न भएको छ।

शनिबार सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष डा. मान बहादुर बीकेको अध्यक्षतामा आयोजना गरिएको थियो। साधारण सभाको उद्घाटन सत्रमा संस्थाका सञ्चालक हुमा कुमारी कुँवर थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

सभामा सञ्चालक समितिका अध्यक्ष डा. मान बहादुर बीकेले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा प्राध्यापक डा. द्रोण प्रकाश रसाली, संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक बाबुराम विश्वकर्मा, डा. यम बहादुर बीके र रेवन्त बहादुर विश्वकर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी, सोही सभामा पूर्व सञ्चालक तथा संस्थापक माधव प्रसाद नेपाल, पूर्व सञ्चालक तथा सर्वसाधारण सेयरधनी गोकर्ण बहादुर कार्की क्षेत्री तथा संस्थाको बैंकिङ समुदाय सदस्य एवं उद्यमी सरिता जोशीले पनि आफ्ना धारणा राखेका थिए।

साधारण सभाले सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गरेको छ। साथै आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पनि पारित गरिएको छ। सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

विशेष प्रस्ताव अन्तर्गत अन्य उपयुक्त संस्थासँग गाभिने, गामिने वा प्राप्ति सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि सभाले गरेको छ।

संस्थाले २०८२ साल पुस मसान्तसम्म कुल ४३ हजार ५७३ सेवा–ग्राही सदस्यलाई सेवा प्रदान गरेको जनाएको छ। सोही अवधिमा संस्थाले २ अर्ब १९ करोड ९० लाख २१ हजार ९०७ रुपैयाँ कर्जा लगानी गरेको छ भने १ अर्ब ६३ करोड ६३ लाख ६३ हजार १३७ रुपैयाँ बचत परिचालन गरेको जानकारी दिएको छ।