काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (चैत १ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले फागुन ११ गतेदेखि स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो। मागभन्दा बढी आवेदन परेकाले कम्पनीले आज बैंकिङ समयपछि निष्काशन प्रक्रिया बन्द गर्ने जनाएको छ।
कम्पनीले ५७ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोही अनुसार पहिलो चरणमा ४ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो।
उक्त शेयरमध्ये ५० प्रतिशत अर्थात् २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र अन्तर्गत ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ र ८ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ।
त्यस्तै ३० प्रतिशत अर्थात् १ लाख ४१ हजार कित्ता शेयर मध्यम प्रभावित क्षेत्र अन्तर्गत सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर २ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ का बासिन्दाहरूलाई वितरण गरिने व्यवस्था गरिएको छ।
यसैगरी बाँकी २० प्रतिशत अर्थात् ९४ हजार कित्ता शेयर न्यून प्रभावित क्षेत्र अन्तर्गत रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ तथा गोकुलगंगा गाउँपालिका वडा नम्बर १ का स्थानीय बासिन्दाहरूमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ भने स्थानीय बासिन्दाले अधिकतम ४७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
