अपर ठूलोखोला जलविद्युत् केन्द्रीय लाइनमा जोडियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा निर्माण गरिएको २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ।

ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान तथा आन्तरिक परीक्षण सम्पन्न भएपछि विद्युत् केन्द्रीय लाइनमा जोडिएको हो। आयोजनाका प्रमुख शिवसागर यादवका अनुसार गत फागुन २९ गते साँझ ६ बजेदेखि परीक्षणका लागि विद्युत् केन्द्रीय प्रसारण लाइनमा पठाउन सुरु गरिएको थियो।

उनका अनुसार नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि विद्युत् केन्द्रीय लाइनमा जोडिएको हो। परीक्षण सफल भएपछि करिब १५ दिनपछि आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुने उनले जानकारी दिए।

हालको सुक्खा याममा आयोजनाबाट करिब १३ दशमलव ८६ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ।

विसं २०८० मा निर्माण सुरु गरिएको उक्त आयोजना भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ। आयोजनाअन्तर्गत सुगुरथलामा बाँध निर्माण गरिएको छ भने डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान गरिएको छ।

त्यसैगरी फेदी क्षेत्रमा विद्युत्गृह निर्माण गरिएको छ। विद्युत्गृहमा दुई वटा टर्वाइन (युनिट) जडान गरिएको छ भने परिसरमा स्वीचयार्ड पनि निर्माण गरिएको आयोजना इन्जिनियर सञ्जीव न्यौपानेले जानकारी दिए।