काठमाडौं । ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता: तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सुरु भएको छ। वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म यस सप्ताह मनाइँदै आएको जनाएको छ।
सप्ताहका अवसरमा वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका कार्यक्रम सञ्चालन गरिनेछन्। वन तथा वातावरणमन्त्री Madhav Prasad Chaulagain ले जनचेतना अभिवृद्धि अत्यन्त महत्त्वपूर्ण भएको उल्लेख गर्दै सबै डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह, विकास तथा संरक्षण साझेदार संस्था र सम्बन्धित निकायलाई आआफ्नो कार्यक्षेत्रमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका छन्।
मन्त्रालयका अनुसार सप्ताहका अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, स्थानीय सञ्चारमाध्यममार्फत सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण, सरसफाइ र अन्य उपयुक्त डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक Dhirendra Kumar Pradhan ले डढेलो देशका सबै प्रदेशमा फैलिएको देखिएको बताए। उनका अनुसार विशेषगरी सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा डढेलोको जोखिम बढी देखिएको छ।
उनले थपे, “डढेलोको भौगोलिक वितरणले तराई–चुरे तथा मध्यपहाडी वन क्षेत्रमा जोखिम उच्च रहेको सङ्केत गरेको छ। सुक्खायाम सुरु भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म डढेलो लाग्ने जोखिम बढ्ने भएकाले प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक छ।”
वन डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य र जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्न सक्ने भन्दै विभागले समयमै रोकथाम र नियन्त्रणमा जोड दिएको छ।
