काठमाडौं । नेपाल प्रहरी साइबर ब्यूरो ले बैंकिङ कसुरसम्बन्धी अभियोगमा प्रभु बैंक लिमिटेड का कर्पोरेट एण्ड प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार यस प्रकरणमा प्रतिवादी अशोक शेरचनमाथि अनुसन्धान भइरहेका बेला थप तथ्य फेला परेपछि डङ्गोललाई पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा डङ्गोलले नेपाल राष्ट्र बैंक बाट जारी निर्देशन तथा प्रचलित कानुन विपरीत कार्य गरेको प्रारम्भिक रूपमा देखिएको छ।
त्यस्तै, प्रभु म्यानेजमेन्ट प्रालिलाई प्रवाह गरिएको ऋणमा कर्जा दुरुपयोग भएको समेत अनुसन्धानबाट खुल्न आएको ब्यूरोले जनाएको छ।
आरोपी डङ्गोलमाथि जिल्ला अदालत काठमाडौं बाट अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको साइबर ब्यूरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।
ब्यूरोले बैंकिङ प्रणालीमा अनुशासन कायम राख्न तथा वित्तीय अपराध नियन्त्रणका लागि अनुसन्धानलाई थप सुदृढ बनाइने जनाएको छ।
