राजस्व सङ्कलनमा निरन्तर प्रगति, लक्ष्यतर्फ अग्रसर

कैलाली । कैलाली भन्सार कार्यालय धनगढी ले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा कुल ५ अर्ब ४० करोड ६७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार सङ्कलित राजस्वमध्ये भन्सार महसुलतर्फ २ अर्ब ८४ लाख, मूल्य अभिवृद्धि करतर्फ २ अर्ब ७ करोड ५९ लाख, अन्तःशुल्कतर्फ १० करोड ५६ लाख र अन्य शीर्षकतर्फ १ अर्ब २१ करोड ६६ लाख रुपैयाँ रहेको छ।

कार्यालयले चालु आर्थिक वर्षका लागि ९ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य लिएको छ। हालसम्म सङ्कलन भएको राजस्व उक्त लक्ष्यको ५५.६७ प्रतिशत रहेको जनाइएको छ।

यद्यपि, चालु आर्थिक वर्षका कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यअनुसार हुन सकेको छैन। साउन महिनामा ७१ करोड ६१ लाखको लक्ष्य राखिएकोमा ५७ करोड ८० लाख मात्रै सङ्कलन भएको थियो भने भदौमा ७४ करोड २१ लाखको लक्ष्यमा ५३ करोड ७० लाख सङ्कलन भएको थियो। असोजमा ७६ करोड ७७ लाख लक्ष्य रहेकोमा ६७ करोड ७८ लाख र कात्तिकमा ८४ करोड ६७ लाख लक्ष्यविपरीत ७२ करोड ५४ लाख राजस्व सङ्कलन भएको थियो।

त्यस्तै, मङ्सिरमा ७८ करोड ३३ लाखको लक्ष्यमा ६८ करोड ९१ लाख, पुसमा ८१ करोड २५ लाख लक्ष्यमा ७४ करोड ६५ लाख, माघमा ७६ करोड ९ लाख लक्ष्यमा ६८ करोड ८२ लाख र फागुनमा ७७ करोड १४ लाख लक्ष्यमा ७६ करोड ४४ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा पनि कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको थिएन। उक्त वर्ष ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ लक्ष्य रहेकोमा ८ अर्ब ६६ करोड ९८ लाख मात्रै सङ्कलन भएको थियो, जुन लक्ष्यको ७७.६७ प्रतिशत हो।