काठमाडौं। नबिल बैंक लिमिटेड ले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रम लाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ।
शुक्रवार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली ले आश्रमका अध्यक्ष रामजी अधिकारी लाई उक्त वाहन हस्तान्तरण गरेका हुन्। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सेवा वाहन प्रदान गरेको जनाएको छ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनकपुरस्थित आश्रमका अभिभावक पवन सिंघानिया ले आश्रमको दैनिक सेवा प्रवाहमा भइरहेको कठिनाइबीच बैंकबाट प्राप्त सेवा वाहनले कामलाई थप सहज बनाउने विश्वास व्यक्त गरे।
बैंकका सिइओ ज्ञवालीले सडक आश्रित मानवहरूको उचित व्यवस्थापनका लागि आश्रमले गरिरहेको कार्य सराहनीय रहेको बताए। मानव सेवा र हितसँग जोडिएका कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले भविष्यमा पनि यस्ता सामाजिक कार्यमा साझेदारी गर्न बैंक सधैं तयार रहने धारणा व्यक्त गरे।
आश्रमका प्रमुख संस्थापक अधिकारीले सेवा वाहन अभावका कारण जनकपुरस्थित केन्द्रमा दैनिक काम तथा लक्षित व्यक्तिहरूलाई सेवा दिन कठिन भइरहेको अनुभव सुनाए। नबिल बैंकबाट प्राप्त अटोले सेवा प्रवाहलाई अझ सहज र छिटो बनाउन सहयोग पुग्ने उनले बताए।
उनका अनुसार सडक आश्रित मानवहरूको उद्धार तथा आश्रमभित्र दैनिक सेवा सञ्चालनमा समस्या भइरहेका बेला यस्तो सहयोग महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ। यसअघि पनि बैंकले आश्रमलाई दुई वटा उद्धार वाहन उपलब्ध गराइसकेको छ।
घरपरिवारविहीन तथा खुला आकाशमुनि कष्टपूर्ण जीवन बिताइरहेका सहयोगपेक्षी सडक आश्रित मानवलाई न्यूनतम मानवीय सेवा उपलब्ध गराई मर्यादित जीवन सुनिश्चित गर्ने उद्देश्यसहित मानवसेवा आश्रम २०६० सालदेखि सञ्चालनमा रहेको छ। हाल आश्रमले सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी करिब १३ हजार जनाको उद्धार गरिसकेको जनाएको छ।
नबिल बैंकले हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अत्यावश्यक मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै आएको छ। जीवन रक्षा र मर्यादित जीवन सुनिश्चित गर्ने कार्यलाई सामाजिक सन्देशका रूपमा लिँदै बैंकले यस्ता क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ।
नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित नबिल बैंकले सामाजिक उत्तरदायित्वमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नबिल एसएसई पहलमार्फत सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता बैंकले दोहोर्याएको छ।
