सन्तोष प्रसाईलाई कोशी एक्सिलेन्स अवार्ड

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड का प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई लाई कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित गरिएको छ।

बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालीन बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म उनले पुर्‍याएको योगदानको कदर स्वरूप उनलाई यो सम्मान प्रदान गरिएको हो।

शनिबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की ले उनलाई अवार्ड प्रदान गरेका हुन्।

कोशी प्रदेशमा जन्मिएर विभिन्न पेशा तथा व्यवसायमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरूलाई विविध विधामा सम्मान गर्ने उद्देश्यसहित कोशी एक्सिलेन्स अवार्ड प्रदान गरिँदै आएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार सिइओ प्रसाईको नेतृत्वमा बीमा क्षेत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले उल्लेखनीय प्रगति हासिल गर्दै बजारमा आफ्नो उपस्थिति सुदृढ बनाउँदै गएको छ।