नेपालमा हाइब्रिड बाइकको नयाँ सुरुवात

काठमाडौं । यामाहाले नेपालमै पहिलो पटक हाइब्रिड मोटरसाइकल आधिकारिक रूपमा सार्वजनिक गर्दै मोटरसाइकल बजारमा नयाँ सेग्मेन्टको सुरुवात गरेको छ। कम्पनीले राजधानी काठमाडौंको कमलादीस्थित स्काइ टावरमा भव्य कार्यक्रम आयोजना गरी नयाँ प्रविधियुक्त बाइक अनावरण गरेको हो।

कार्यक्रमलाई फरक ढंगले प्रस्तुत गर्दै दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटरलाई विशेष प्रिभ्यु दिइएको थियो भने दोस्रो चरणमा सञ्चारकर्मी, व्यवसायिक साझेदार, डिलर, राइडिङ समुदायका सदस्य तथा रेसरहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा यामाहा परिवारका अध्यक्ष विष्णु कुमार अग्रवाल, कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल, Yamaha Motor Indiaका प्रतिनिधिहरू राजदीप सिंह र बिपिन सिंह लगायतको उपस्थिति रहेको थियो। साथै चर्चित व्यक्तित्वहरू वर्षा बस्नेतश्रीहरी पौडेलको समेत सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण Yamaha FZ Hybridको अनावरण थियो। सन् २००८ देखि लोकप्रिय रहँदै आएको FZ सिरिजलाई निरन्तरता दिँदै प्रस्तुत गरिएको यो मोडेलमा १४९ सीसी फ्युल-इन्जेक्टेड इन्जिनसँग स्मार्ट मोटर असिस्ट प्रविधि जोडिएको छ। हाइब्रिड प्रणालीले इलेक्ट्रिक असिस्टमार्फत तीव्र एक्सेलेरेशन, सहज स्टार्ट–स्टप, कम इन्धन खपत र न्यून उत्सर्जन जस्ता विशेषता प्रदान गर्ने कम्पनीले जनाएको छ।

यो मोटरसाइकलले ६० किलोमिटर प्रतिलिटरभन्दा बढी माइलेज दिने दाबी गरिएको छ, जसले सहरी ट्राफिक र बढ्दो इन्धन मूल्यको सन्दर्भमा व्यवहारिक समाधान प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। १३५ केजी तौलको हल्का संरचना, सिंगल–च्यानल बोश एबीएस, २२० एमएम रियर डिस्क ब्रेक र चौडा रेडियल टायरले यसको सुरक्षा र स्थिरता थप मजबुत बनाएको छ।

डिजाइनतर्फ एलईडी हेडलाइट, इन्टिग्रेटेड साइडलाइट, दुई तहको सिट, मिडशिप मफलर, नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र E20 फ्युल अड्याप्टिबिलिटी जस्ता आधुनिक सुविधाहरू समावेश गरिएको छ, जसले यसलाई भविष्य–उन्मुख बनाएको छ।

कार्यक्रममा ब्रान्ड एम्बेसडरका रूपमा अनुप विक्रम शाहीलाई घोषणा गरिएको थियो। साथै रोबोट र मानवको संयुक्त प्रस्तुति मार्फत हाइब्रिड प्रविधिको महत्वलाई आकर्षक रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रम स्थलमा ‘एक्सपिरियन्स जोन’ तयार गरी २००८ देखि २०२६ सम्मको FZ सिरिजको विकास यात्रा समेत प्रदर्शन गरिएको थियो, जसले सहभागीहरूलाई उत्पादनको इतिहास र प्रविधि नजिकबाट बुझ्ने अवसर प्रदान गरेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले हाइब्रिड प्रविधि नेपालमा भित्र्याउनु कम्पनीका लागि महत्वपूर्ण कदम भएको उल्लेख गर्दै स्मार्ट र जिम्मेवार यातायाततर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे। समापनमा सीईओ अग्रवालले साझेदार र ग्राहकप्रति आभार व्यक्त गर्दै नेपालको यातायात भविष्यलाई नवीन प्रविधिमार्फत अघि बढाउने लक्ष्य दोहोर्‍याए।

नेपालभर १०० डिलरशिप, ९५ सेवा केन्द्र र ११७ आधिकारिक सेवा प्रदायकमार्फत सेवा दिँदै आएको यामाहाले यो नयाँ उत्पादनसँगै नेपाली मोटरसाइकल बजारमा दिगोपन, दक्षता र प्रदर्शनको नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।