फ्लोरा एक्स्पो सफल, कारोबारमा उत्साह

काठमाडौँ । राजधानीमा पुष्प व्यवसाय प्रवर्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो उत्साहपूर्ण सहभागिता र उल्लेखनीय कारोबारका साथ सम्पन्न भएको छ। भृकुटीमण्डपमा चैत ५ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको मेलामा दर्शकको आकर्षण उच्च देखिएको आयोजकले जनाएको छ।

मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङका अनुसार ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित आयोजित एक्स्पोमा सुरुवातदेखि नै दर्शकको उत्साहजनक सहभागिता रहेको थियो।

फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंका अनुसार पहिलो दिन ९ हजार ५०० दर्शकले अवलोकन गर्दै २१ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। दोस्रो दिन १७ हजार ५०० दर्शकको सहभागितासहित २९ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो।

तेस्रो दिन २१ हजार ५०० दर्शकले मेला अवलोकन गर्दा ३९ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो भने अन्तिम दिन १२ हजार २०० दर्शकको उपस्थितिमा ३१ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ।

चार दिनसम्म सञ्चालन भएको मेलामा कुल ६० हजार ७०० जनाले अवलोकन गरेका छन् भने १ करोड २२ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जानकारी दिएको छ।

मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फुड २, ल्याण्डस्केप १, सेल्फी १ तथा बीवाईडी ईभी कारसहित कुल ८३ वटा स्टल राखिएका थिए। प्रदर्शनीमा सहभागी व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाहरूलाई विभिन्न विधामा प्रतिस्पर्धामा समेत समावेश गरिएको थियो।

राजेशभक्त श्रेष्ठका अनुसार हाल देशभर ५२ जिल्लामा २७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको छ भने करिब ५३ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्।

यद्यपि कमजोर आर्थिक अवस्था र नीतिगत चुनौतीका कारण चालु आर्थिक वर्ष २०८१/८२ मा पुष्प व्यवसायको वार्षिक कारोबार ३ अर्ब ३७ करोड रुपैयाँमा सीमित हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ६८ करोडभन्दा कम हो।

तर सकारात्मक पक्षका रूपमा विदेशी फूलको आयातमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो वर्ष २७ करोड ७९ लाख रुपैयाँ बराबरको आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको तथ्यांक छ। निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

चार दिनसम्म चलेको एक्स्पोले उत्साहजनक सहभागिता, कारोबार वृद्धि र पुष्प व्यवसायप्रति बढ्दो आकर्षणका संकेत दिँदै सफलतापूर्वक समापन भएको आयोजकले जनाएको छ।