काठमाडौं । स्नो रिभर्सले निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा आज चैत ९ गतेदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ सार्वजनिक गरेको हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते अनुमति प्राप्त गरेको थियो। सोही अनुसार पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरिएको छ।
दुवै समूहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको शेयरमध्ये ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का बासिन्दाका लागि ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ। त्यसैगरी सोही गाउँपालिकाको वडा नं. १ देखि ७, सिदिङ्वा गाउँपालिका वडा नं. ५ र ६, पाथीभरा याङवरक गाउँपालिका वडा नं. ५ र ६ तथा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं. १ का स्थानीयका लागि थप ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ।
स्थानीयका लागि आईपीओ निष्काशन छिटोमा चैत २३ गते र ढिलोमा वैशाख ८ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकतामा राख्दै पूँजी बजारमा सहभागी गराउने उद्देश्यले पहिलो चरणको आईपीओ निष्काशन गरेको जनाएको छ।
