काठमाडौं । समृद्धि फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ। दुवै संस्थाबीचको एकीकरण अब एक साताभित्र पूरा हुने तयारी गरिएको छ।
समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष घिमिरेका अनुसार मर्जरको सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ र केही दिनभित्रै औपचारिक रूपमा एकीकरण सम्पन्न हुने छ।
दुवै संस्थाबीच गत साउन ४ गते मर्जरका लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो। सम्झौताअनुसार सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकनपछि १:१ अनुपातमा शेयर स्वाप रेसियो निर्धारण गरिएको छ।
कम्पनीहरूले मर्जरपछि संयुक्त रूपमा सेवा विस्तार, वित्तीय क्षमता सुदृढीकरण तथा ग्राहक सेवा सुधार गर्ने लक्ष्य लिएका छन्। मर्जरपछि नयाँ संस्थाले वित्तीय क्षेत्रमा थप प्रतिस्पर्धी र प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
