स्थानीय लगानीमा नयाँ अवसर

काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले आजदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन सुरु गरेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँ मूल्यका ४९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये १४ करोड रुपैयाँबराबरको १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ।

उक्त १४ लाख कित्तामध्ये ९ लाख १० हजार कित्ता शेयर अति प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ। यसअन्तर्गत बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिका वडा नं. ३, ४, ५, ६ र ८, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाहरू समावेश छन्।

यस्तै, बाँकी ४ लाख ९० हजार कित्ता शेयर बझाङको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडीको डिलासैनी गाउँपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिकाका अन्य (अति प्रभावित क्षेत्र बाहेकका) वडाका स्थायी बासिन्दाहरूलाई वितरण गरिनेछ।

यसका साथै सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ५० लाख रुपैयाँबराबरका ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। यसमा नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूले आवेदन दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आवेदन अवधि छिटोमा चैत २४ गतेसम्म रहनेछ भने माग नपुगेमा २०८३ वैशाख ९ गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।