महावीर श्री इन्टरनेशनलले १ अर्ब २० करोड व्यापार गर्दै वित्तीय स्थिरता कायम राख्यो

काठमाडौँ । निर्माण, उड्डयन र ऊर्जा क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव बटुलेको महावीर श्री इन्टरनेशनल प्रालीले आर्थिक वर्ष २०२४/२५ मा १ अर्ब २० करोड १० लाख रुपैयाँ व्यापार गरेको छ।

सन् १९९४ मा स्थापना भएको कम्पनी मुख्यत: नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल विद्युत प्राधिकरणका आयोजनामा संलग्न रहँदै आएको छ। आर्थिक उतारचढावको बाबजुद कम्पनीले सन्तोषजनक वित्तीय प्रदर्शन देखाएको छ।

व्यापार र नाफाको अवस्था

कम्पनीको वित्तीय विवरणअनुसार, २०२५ मा व्यापार अघिल्लो वर्ष २०२४ को १ अर्ब ३४ करोड ८० लाख रुपैयाँको तुलनामा केही घटेर १ अर्ब २० करोड पुगेको छ।

खुद नाफा पनि २०२४ को ६ करोड रुपैयाँबाट २०२५ मा ४ करोड रुपैयाँमा झरेको छ। यद्यपि, २०२३ को १ करोड ८० लाखको तुलनामा सुधारोन्मुख देखिन्छ।

  • खुद नाफा दर: २०२३ – १.६५%, २०२४ – ४.४८%, २०२५ – ३.३२%
  • सञ्चालन मुनाफा दर: २०२३ – ७.७१%, २०२४ – १०.६४%, २०२५ – ८.७५%

ऋण र पुँजीको स्थिति

कम्पनीको ऋण र पुँजी अनुपात २०२४ को १.५० बाट २०२५ मा १.०७ मा झरेको छ, जसले ऋणको भार घट्दै गएको संकेत दिन्छ।
सञ्चालन मुनाफासँगको ऋण अनुपात भने ४.०६ बाट ४.३१ गुणामा पुगेको छ।

बैंक सुविधाको रेटिङ

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीका बैंक सुविधाहरूको रेटिङ पुष्टि गरेको छ:

  • दीर्घकालीन ६ करोड ३१ लाख ९० हजार रुपैयाँ – ‘IRN डबल बी माइनस’
  • अल्पकालीन ५८ करोड रुपैयाँ – ‘IRN A फोर’
  • दीर्घकालीन/अल्पकालीन १ अर्ब ५ करोड रुपैयाँ – ‘IRN डबल बी माइनस/ए फोर’

चुनौती र अवसर

निर्माण क्षेत्र कार्यशील पूँजीमा आधारित भएकाले कुल व्यापारको करिब ५९.८१% कार्यशील पूँजीमा खर्च हुने गरेको छ।

उच्च प्रतिस्पर्धा, सरकारी बजेटको सीमितता र ब्याजदरमा उतारचढाव आगामी दिनमा चुनौती हुनसक्ने देखिन्छ। हाल कम्पनीसँग ६२ करोड ४० लाख रुपैयाँ बराबरको बाँकी काम रहेको छ, जुन २०२५ को आम्दानीको ०.५२ गुणा मात्र हो।