नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया भएको छ।
साम्बाले बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीबाट आफ्नो शल्यक्रिया सफलतापूर्वक सकिएको बताएकी छन्। अब डाक्टरको निगरानीमा पुनर्स्थापना ९रिह्याब० प्रक्रिया सुरु हुने बताएकी छिन्।
न्युजिल्याण्डको विलिंटन फिनिक्सबाट खेल्दै आएकी साम्बा तीन महिनाअघि ब्रिसबेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन्। खेलको दोस्रो हाफको अन्त्यतिर बलका लागि प्रतिस्पर्धा गर्ने क्रममा विपक्षी टोलीकी गोलकिपर क्लोई लिंकनसँग ठोक्किँदा उनको दायाँ घुँडामा चोट लागेको थियो।
एमआरआई परीक्षणमा उनको दायाँ घुँडाको एसिएल ग्राफ्ट च्यातिएको पुष्टि भएको थियो, जसका कारण उनले ९ देखि १२ महिनासम्म मैदान बाहिर रहनुपर्ने अनुमान गरिएको छ ।
चोटपछि उपचारका लागि ठूलो रकम आवश्यक परेपछि साम्बाले सहयोगको अपिल गरेकी थिइन्। अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अपेक्षित सहयोग नपाएपछि उनले सामाजिक सञ्जालमार्फत समर्थकसँग सहयोगका लागि अपिल गरेकी थिइन्।
उनको अपिलपछि देश तथा विदेशबाट व्यापक साथ मिल्यो।
२४ घण्टाभन्दा कम समयमा नै झन्डै डेढ करोड रुपैयाँ संकलन भएको थियो। नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) सहयोग प्राप्त भएको उनले जानकारी दिएकी थिइन्। त्यसपछि उनले तत्कालका लागि सहयोग संकलन बन्द गरेकी थिइन्।
कतारस्थित एस्पेटार अस्पतालमा उपचार गर्ने योजना रहे पनि खाडी क्षेत्रको अवस्थाका कारण त्यहाँ जान कठिन भएपछि न्युजिल्यान्डमै शल्यक्रिया गरिएको साम्बाले जानकारी दिएकी छिन्। उनले अवस्था सामान्य भएपछि एस्पेटारमै रिह्याबलाई निरन्तरता दिने योजना रहेको पनि बताएकी छन्।
साम्बाले यस कठिन समयमा साथ दिने वेलिंगटन र अकल्यान्डस्थित नेपाली समुदाय, आफ्नो क्लब वेलिंगटन फिनिक्स तथा व्यवस्थापन टोलीप्रति आभार व्यक्त गर्दै अब सम्पूर्ण ध्यान पुनरागमनमा केन्द्रित गर्ने बताएकी छन्।
४ वर्षअघि पनि साम्बाको सोही घुँडाको एसिएल गएको थियो। त्यति बेला कतारमा शल्यक्रिया गरेपछि उनीले पुनरागमन गरेकी थिइन्। सम्बा नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्।

