काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले नेपाली बीमा बजारमा आफ्नो उपस्थिति थप सुदृढ गर्दै विविध जीवन बीमा योजनाहरू सार्वजनिक तथा विस्तार गरिरहेको छ। कम्पनीले दीर्घकालीन वित्तीय सुरक्षा, डिजिटल रूपान्तरण र ग्रामीण तथा अर्ध-शहरी क्षेत्रमा सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।
कम्पनीले हालै सम्पन्न ८औँ र ९औँ वार्षिक साधारणसभापछि २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसले यसको वित्तीय सबलता र पारदर्शितालाई देखाएको बताइएको छ। यसले बीमित तथा लगानीकर्तामा दीर्घकालीन भरोसा बढाएको कम्पनीको दाबी छ।
कम्पनीको प्रमुख योजनामध्ये “सनलाइफ एन्डाउमेन्ट एस्युरेन्स प्लान” रहेको छ, जसमा बीमितले अवधि पूरा गरेपछि बीमा रकमसहित बोनस प्राप्त गर्ने व्यवस्था छ भने आकस्मिक निधन भएमा पनि पूर्ण बीमा रकम र बोनस परिवारलाई उपलब्ध हुन्छ। प्रिमियम भुक्तानी वार्षिक, अर्धवार्षिक तथा त्रैमासिक रूपमा गर्न सकिने सुविधा रहेको छ। साथै, आवश्यक परेमा बीमामाथि ऋण सुविधा समेत उपलब्ध गराइने व्यवस्था छ।
त्यस्तै “नवीन आजीवन जीवन बीमा” योजनाले १०० वर्षसम्मको सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ। यसले दीर्घकालीन बीमा सुरक्षा र सम्पत्ति योजना (इस्टेट प्लानिङ) मा सहयोग गर्ने बताइएको छ।
बालबालिकाका लागि लक्षित “गोल्डेन चाइल्ड एन्डाउमेन्ट प्लान” पनि लोकप्रिय रहेको छ, जसमा अभिभावकको मृत्यु भएमा प्रिमियम छुट हुने तथा मासिक आर्थिक सहायता उपलब्ध गराउने सुविधा छ। यसले शिक्षा, विवाह र भविष्यका आवश्यकतामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
“सनलाइफ एन्डाउमेन्ट गोल्डेन प्लान” मा अवधि अनुसार २५ देखि ४० प्रतिशतसम्म अतिरिक्त रकम पाउने व्यवस्था छ भने मृत्यु लाभमा १५० प्रतिशतसम्म बीमा रकम उपलब्ध हुने बताइएको छ।
एक पटक मात्र प्रिमियम तिर्ने “भाग्योदय जीवन बीमा” योजना पनि कम्पनीले प्रस्तुत गरेको छ, जुन विशेषगरी एकमुष्ट लगानी गर्न चाहने ग्राहकका लागि उपयोगी मानिएको छ। यसमा बोनस लाभ पनि उपलब्ध हुने व्यवस्था छ।
साथै कम्पनीले “सन मेडिकेयर”, “क्रिटिकल इलनेस राइडर”, “दुर्घटना मृत्यु तथा अपांगता सुविधा” र “अन्त्येष्टि खर्च सहायता” जस्ता अतिरिक्त राइडरहरूमार्फत बीमितलाई थप सुरक्षा प्रदान गरिरहेको छ।
कम्पनीले “सनलाइफ स्मार्ट” डिजिटल पहलमार्फत सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउँदै ग्राहकलाई सबै जीवन चरणमा वित्तीय सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
